
“गाउँ–शहरमा लमजुङ दरबार, मायालाई दिने थिए फूल जस्तो जोवन, भइसक्यो मेरो घरबार…”
यो कालजयी गीत नेपाली लोक संगीतको एउटा बलियो खम्बा हो। लमजुङको पहिचान बनेको यो गीतकी गायिका माया गुरुङको वास्तविक जीवन कुनै चलचित्रको पटकथाभन्दा कम छैन। यो कथा एउटा कलाकारको सफलताको मात्र होइन, बरु अभावलाई गलाएर पहिचान बनाउने एउटा अदम्य साहसको दस्ताबेज हो।
सुरिलो स्वरकी धनी माया गुरुङको २०१९ साल असार २९ गते भानु जयन्तीको दिनमा ४ जना दाई र १ वटा दिदी पछि पाँचौ सन्तानको रुपमा लमजुङको बेसीशहर नगरपालिका वडा नं ५ नाल्मामा जन्म भएको हो । उपयुक्त वातावरण पाएको भए सानै देखि बालकलाकारको रुपमा उदाउन सक्ने खुबी भएकी गुरुङकोे जीवन निकै सङ्घर्षपूर्ण रहेको छ । लमजुङको दुर्गम गाउँ, अभावको आँगन र रोधीघरको धून— यी तीन तत्वको संगमबाट जन्मिएकी एक प्रतिभा हुन्, “माया गुरुङ ।“
१. आमाको विरासत र संघर्षको जग
मायाको जीवन बुझ्न उनकी आमाको इतिहास बुझ्नुपर्छ। उनकी आमा गोर्खाको सम्भ्रान्त साहु–महाजन खानदानकी बुहारीको रुपमा भित्रिएकी थिइन्। धादिङ माइती भएकी उनकी आमाले २००६ सालमा ११ वर्षकै उमेरमा अन्तरजातिय विवाह भएर भित्रिएकी र उनी घरपरिवारकै जालझेलमा परेर घरबाट निकालिनु पर्यो र लामो समयको पैदल यात्रापछि लमजुङ आइपुगिन् र यतै घरजम गरेर बसिन् ।
सय तोला सुन लगाएर भित्रिएकी आमाले पछि अत्यन्तै कठिन जीवन भोग्नुपर्यो। माया सम्झिन्छिन्, “आमा ठुलो खानदानकी छोरी तर कर्मले पाजी हुनुपर्यो। मैले बुवासँग काम सिकेँ र आमासँग जीवन जिउने तरिका सिकेँ।“
मायाको बाल्यकाल सुखद रहेन। पारिवारिक विघटन र आर्थिक संकटले उनलाई सानैदेखि जीवनको कठोर यथार्थसँग साक्षात्कार गरायो। तर, त्यही संघर्षले उनलाई बलियो बनायो।

२. १८ वर्षको उमेरमा ’कखरा’ र अधुरो सपना
धेरैका लागि स्कुल जाने उमेर खेल्ने–कुद्ने समय हो, तर मायाका लागि त्यो केवल रहर बन्यो। मायाको मनमा एउटा गहिरो घाउ छ— शिक्षाको अभाव । पारिवारिक जिम्मेवारी र परिस्थितिले उनलाई समयमा स्कुल टेक्न दिएन। तर पढ्ने भोक यति थियो कि १८–१९ वर्षको उमेरमा उनी बल्ल कक्षा ४ मा भर्ना भइन् । भाइलाई स्कुल पढाउने कुरा भएपछि उनले पनि भर्ना हुने मौका त पाइन् तर छोरी पढ्न हुदैन भनेर दबावमा परेपछि २ महिनामै पढाइ छोड्नु पर्यो ।
“दाइले कलम समाउन सिकाउनुभयो। केही समय पढेर ४ कक्षा पास गरेँ, तर घरको काम र बाध्यताले स्कुल छोड्नैप¥यो। अहिले पनि सपनामा म स्कुल गइरहेको र परीक्षा दिइरहेको देख्छु, तर बिउँझिँदा ती केवल सम्झनाका धर्सा मात्र हुन्छन्।“ पढ्न पाएको भए म पक्का कवि हुन्थेँ होला।“ माया गुरुङ भावुक हुदै भन्छिन् ।
३. रोधीघरः संगीतको पहिलो विश्वविद्यालय
मायाको सांगीतिक जग कुनै औपचारिक कलेजमा होइन,“मेरो सांगीतिक यात्राको पहिलो पाठशाला रोधीघर नै हो। त्यहाँका भिरपखाहरूले मलाई गीत सिकाए, र रोधीघरको धूनले मलाई परिचय दियो” माया भन्छिन् ।
उनको दाइ भारतको लाहुरे भएकोले त्यो समयमा पनि उनको घरमा रेडियो थियो । मादलको ताल र दोहोरीको लय नै उनको संगीतको ’कखरा’ बन्यो। उनले रेडियोमा लोकबहादुर क्षेत्री र सावित्री शाह, युक्त गुरुङका गीतहरू लुकीछिपी सुन्थिन् र शब्दहरू बारम्बार दोहा¥याउँथिन् । त्यो बेला युक्त गुरुङले गाएको “दाइ त मेरो लाहुरै जाने, म त बहिनी सम्झेर रोइरहने” गित उनलाई अझै पनि सारै मन पर्छ ।
४. २०३५ सालः बेसीशहरको पहिलो मञ्च र दरबारको यात्रा
२०३५ सालमा बेसीशहरमा भएको ’बीरेन्द्र शिल्ड’ प्रतियोगिताबाट उनको औपचारिक यात्रा सुरु भयो। घरबाट भागेर प्रतियोगितामा सहभागी भएकी उनले त्यसपछि पछाडि फर्केर हेर्नुपरेन। राजा विरेन्द्रको जन्मोत्सव तथा विरेन्द्र शिल्ड प्रतियोगिताको आयोजना हुँदा बेसीशहरको फूलबारी मञ्चमा आएर गाएको गित प्रथम भयो ।
२०४१ सालमा राजा वीरेन्द्रको परिवार पोखरा आउँदा आयोजित जिल्ला स्तरीय प्रतियोगितामा उनको टिम प्रथम भयो। उनले राजाकै अगाडि उभिएर गीत गाउने र स्याबासी पाउने दुर्लभ अवसर पाइन्।
२०४३ सालमा पाण्डब सुनार, कृष्ण सुधा, प्रेमराजा महत लगायत १५ जना रेडियो नेपालको ‘प्रतिभा खोजी’ टोली गाउँमै पुग्दा उनी छनोट भइन्।
५. काखमा छोरी र काठमाडौँको संघर्ष
जब काठमाडौँबाट रेडियोमा गाउन चिठी आयो, उनको काखमा ९ महिनाकी छोरी थिइन्। कलाकारिताको बाटो महिलाका लागि कहिल्यै सहज थिएन । समाजले “छोरी मान्छे भएर कहाँ हिँडेको“ भन्यो, तर बेसीशहरका क्याप्टेन रणबहादुर गुरुङ र काजी सेरचन जस्ता शुभचिन्तकको आडमा उनी छोरी च्यापेरै काठमाडौँ पुगिन्।
क्षेत्रपाटीको एउटा सानो कोठामा बस्दा उनलाई सल्लाह दिइयो— “लमजुङ झल्किने गीत गाउनुपर्छ।“ त्यहीँबाट जन्मियो— ’गाउँ–शहरमा लमजुङ दरबार’। २०४५ साल फागुन ७ गते प्रजातन्त्र दिवशको अवसरमा गाएको यो गीतले राष्ट्रिय प्रतियोगितामा प्रथम हुदै स्वर्ण पदक प्राप्त गर्यो। उनको खुशीको सिमा रहेन ।
“रेडियोबाट आफ्नो आवाज पहिलो पटक सुन्दा मलाई सपना जस्तै लागेको थियो। ’रेडियोले नगाएको भाका गाउन सक्छौ?’ भनेर सोध्दा मैले आत्मविश्वासका साथ ’कोसिस गर्छु’ भनेकी थिएँ।”
त्यो क्षण उनको जीवनकै सबैभन्दा गौरवपूर्ण क्षण थियो। त्यसपछि २०४३ सालमा रेडियो नेपालको ’प्रतिभा खोजी’ कार्यक्रमले उनलाई गाउँको कुनाबाट निकालेर देशभरिको साझा आवाज बनाइदियो।
उनको यो यात्रामा श्रीमानको साथ एउटा बलियो खम्बा बन्यो। “छोरी बोकेरै काठमाडौँका गल्लीहरूमा हिँडेँ। श्रीमानले साथ नदिएको भए म सायद बीच बाटोमै हराउने थिएँ।“मायाको भनाई छ ।

६. न्यायको लडाइँः डीएनए परीक्षण र नागरिकता
१० वर्ष काठमाडौंमा बसेर रेडियोे नेपालमा गित गाएकी माया गुरुङको वैवाहिक जीवनमा एउटा यस्तो कठिन मोड आयो, जसले उनलाई कानुनी लडाइँको मैदानमा उभ्याइदियो। बस्नेतकी भान्जी र मगरकी छोरी मायाले गुरुङसगँ अन्तरजातिय विवाह गरेकी थिइन् । त्यसकै फल स्वरुप उनका श्रीमानले नागरिकता प्राप्त गर्न राज्यसँग लामो संघर्ष गर्नुपर्यो। नाता प्रमाणित गर्न र आफ्नो अधिकार सुनिश्चित गर्न उनले डीएनए परीक्षण जस्तो जटिल र मानसिक रूपमा थकाउने प्रक्रिया पार गर्नुपर्यो, यो क्रममा आफूले ३ लाख रुपैँया समेत खर्च गर्नुपरेको मायाको भनाई छ । मुद्धा लडेर र सत्य सावित गरेर मात्रै उनको श्रीमानले नागरिकता पाए र त्यसपछि उनले न्याय पाइन्।
पछिल्लो समय जिल्लामा २०७६ सालमा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जन्मिएपछि आफू पनि फेरी जन्मीएको मायाले बताइन् । कला प्रतिष्ठानको अध्यक्षमा अनुज अधिकारी चयन भएपछि माया गुरुङलाई साथ साथै लिएर अगाडी बढेको भन्दै उनले खुशी ब्यक्त गरिन् ।
माया गुरुङलाई इन्द्रेणीले सम्मान सहित उनका घरमै आएर प्रति महिना १० हजार दिने घोषणा गरेपनि त्यसरी बोलेको रकम नदिएको बरु आफू काठमाडौं जाँदा भने केही रकम हातमा दिने गरेको मायाको भनाई छ ।
७. भोगाइ र वर्तमान
सफलताको शिखर चढ्दै गर्दा उनले सांगीतिक क्षेत्रको अँध्यारो पक्ष पनि देखिन्। ०४५ सालमा “गाउँशहरमा लमजुङ दरबार” गितले गोल्ड मेडल जितेको पुरस्कार पाउन पनि उनले एक वर्ष कुर्नुपर्यो। रेडियो नेपालमा पनि त्यस्तै भयो हाम्रो देशमा धेरै शोषकहरु छन् भन्दै माया गुरुङ भावुक बनिन् “आफूले खर्च गरेर एल्बम निकाले तर पैसा अरुले नै संकलन गरेर खाइदियो ।”
तर उनी सकारात्मक छिन् र भन्छिन्, “जिन्दगी छोटो छ, कसैको नराम्रो चिताउनु हुन्न, मैल पनि खाएकै छु, लाएकै छु ।”
आफैंले रचना गरेको गितबाट पनि अरुले नाम दाम कमाएर खाएको बताउने माया धन सम्पतिले कसैलाई पुगेको छैन भन्दै चित्त बुझाउँदैन् ।

१० वर्षको काठमाडौं बसाइमा उनले १ सय ५ वटा गित रेडियो नेपालमा गाइन्, १३ वटा आफ्नै एल्वम निकालिन् भने ४⁄५ सय वटा एल्वमका आधुकिन तथा लोकदोहरी गितमा आफूले आवाज दिएको मायाले बताइन् । रेडियो नेपालमा गित गाउँदा सबैले अन्त्यन्तै रुचाइएकी गायिका माया गुरुङले आफैले गाएका गितहरु कहाँ छन् अहिलेसम्म खोज खबर गरेकी छैनन् । अब जमाना फेरिएको र ती गितहरुको पनि खोजि कार्यमा जुट्ने उनको भनाई छ ।
आफूले गाएका गित मध्ये पनि कतिपय यस्ता छन् जुन हरक्षण उनी सम्झिरहन्छिन् । “सल्ला धुपैले, निन्द्रामा ब्युँझायो तिम्रो रुपैले”
२०४५ मा रेडियो नेपाल पुगेकी मायाले २०५५ सालमा विशिष्ट श्रेणीको सम्मान सहित प्रमाणपत्र पाइन र केही समय मै आफ्नै बाध्यताले गाउँ फर्किनुपर्यो ।
माया गुरुङ आज पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा उत्तिकै सक्रिय छिन्। उनी अहिले जिल्ला भित्रका विभिन्न कार्यक्रमहरुमा उपस्थित भएर ’लोकदोहरी’ गाएर मन बुझाउँछिन्। ‘गित गाएर मैले पैसा कमाएको छैन तर मलाई एउटै धोको छ म मर्नु अघि मैले गाएका सबै गितहरु खोजेर संकलन गरेर जिल्लाबासीलाई दिनु छ’ मायाले भावुक हुँदै भनिन् ।
माया गुरुङको कलाकृती जोगाउनको लागि राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानले लमजुङले आगामी असोजमा माया गुरुङ एकल साँझको आयोजना गरेको छ ।

अन्त्यमा
माया गुरुङको जीवन संघर्ष, प्रेम र न्यायको एउटा जीवित गाथा हो। रोधीघरको माटोबाट सुरु भएको उनको स्वरले दरबार र रेडियो नेपाल हुँदै हरेक नेपालीको मन जितेको छ। अक्षर चिन्न नपाएको त्यो १८ वर्षको ठिटी आज नेपाली लोक संगीतको एउटा गर्विलो इतिहास बनेकी छिन् ।
माया गुरुङको जीवनले हामीलाई एउटै कुरा सिकाउँछ— “सफलताको लागि महँगो कलेज होइन, दृढ संकल्प चाहिन्छ।“ रोधीघरको मादलको तालदेखि दरबारको भव्यतासम्म पुग्दा पनि उनी उत्तिकै सरल र शालिन छिन्। सीमित अवसरका बाबजुद आफ्नो प्रतिभा र मेहनतले उनले नेपाली लोकसंगीतमा महत्वपूर्ण स्थान बनाएकी छन्।
“जीवनले मलाई उपहारमा फूल होइन, संघर्ष दियो र त्यही संघर्षलाई मैले संगीतमा बदलेँ, जसले आज मलाई ’माया गुरुङ’ बनाएको छ।” उनी भन्छिन् ।









