बेसीशहर नगरपालिकाद्वारा विद्यालयमा प्रविधि विस्तार र कार्यसम्पादन करार

-


     सृजना बराल     
     वैशाख १५ गते २०८३ मा प्रकाशित


लममजुङको बेसीशहर नगरपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि प्रविधि विस्तार, सामग्री हस्तान्तरण र कार्यसम्पादन करार सम्झौतालाई एकसाथ अघि बढाएको छ।

नगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ का लागि शिक्षा, युवा तथा खेलकुद शाखा र सामुदायिक विद्यालयका प्रअहरु विच कार्यसम्पादन करार सम्झौता गरेको छ । सो अवसरमा अघिल्लो शैक्षिक सत्र २०८२ मा गरिएको कार्यसम्पादन करारको समीक्षा गर्दै विद्यालयहरूले हासिल गरेका उपलब्धि, देखिएका कमजोरी तथा आगामी वर्षका लागि तयार पारिएका कार्ययोजनामाथि विस्तृत प्रस्तुतिकरण गरिएको थियो।

समीक्षा तथा छलफलका क्रममा विद्यालयलाई अझ गुणस्तरीय, विश्वसनीय र व्यावसायिक बनाउने लक्ष्यसहित सुधारका प्रमुख क्षेत्र पहिचान गरिएका छन्। ती सुधार कार्यहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता विद्यालयका तर्फबाट जनाइएको छ भने नगरपालिकाले आवश्यक स्रोत–साधन उपलब्ध गराएर सहयोग गर्ने जनाएको छ।

कार्यक्रमअन्तर्गत नगरपालिकाले १६ वटा विद्यालयका लागि ३० थान ल्यापटप वितरण गरेको छ। तीमध्ये १४ वटा माध्यमिक विद्यालयलाई दुई\दुई थानका दरले र दुई वटा आधारभूत विद्यालयलाई एक\एक थानका दरले ल्यापटप हस्तान्तरण गरिएको हो। प्रविधिमैत्री शिक्षण सिकाइ कार्यक्रमलाई मजबुत बनाउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको जनाइएको छ।

बेसीशहर नगरपालिकाका नगर प्रमुख गुमान सिंह अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख पद्मा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, नगर प्रवक्ता हिरालाल बिक, शिक्षा शाखा प्रमुख सुन्दर खत्री, नगरपालिका लेखा अधिकृत सिर्जना पौडेल, सूचना प्रविधि अधिकृत निलम श्रेष्ठ, सामुदायिक विद्यालयका प्रअहरु लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा शिक्षा शाखाका सहायक शिक्षा अधिकृत सिर्जना पाण्डे चिलुवालले सहजिकरण गर्नुभएको थियो ।

यसअघि पनि नगरपालिकाले शैक्षिक सुधार कार्यक्रमअन्तर्गत प्रविधिमैत्री शिक्षणलाई कार्यन्वयन गर्ने उद्धेश्य अनुसार २३ वटा विद्यालयका बालविकास केन्द्रलाई पाठ्य सामग्री सहितको एलइडी टिभी वितरण गरिसकेको छ । साथै १४ वटा माध्यमिक विद्यालय र दुई वटा आधारभूत विद्यालयमा स्मार्ट बोर्ड, प्रोजेक्टर, ई–हाजिरी मेसिन र सिसीटिभी जडान गर्नुका साथै प्रविधिमैत्री तालिमसमेत प्रदान गरिएको सहायक शिक्षा अधिकृत सिर्जना पाण्डे चिलुवालले जानकारी दिनुभएको छ ।

नगरपालिकाले प्रविधिमा आधारित शिक्षण सिकाइलाई प्रभावकारी बनाउँदै सामुदायिक विद्यालयको समग्र शैक्षिक सुधारमा जोड दिएको जनाएको छ।