अत्याधिक चिसोले मनाङ रित्तिदै

-


     भरत बाबु घिमिरे    
     पौष १० गते २०८० मा प्रकाशित


अत्यधिक चिसो बढेपछि हिमाली जिल्ला मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको माथिल्लो भेगबाट चिसो छल्न गाउँलेहरू धमाधम सहरतिर झरिरहेकाले बस्ती रित्तिँदै गएको हो ।

चिसोले जमेपछि खोलानालाको पानीसमेत जम्ने र धारामा समेत पानी आउन छाडेको छ । चिसो बढेपछि माथिल्लो मनाङको नार्पा भूमि गाउँपालिकाको कार्यालय पनि अस्थायी रूपमा सदरमुकाम चामेबाट सञ्चालन गरिएको छ । गाउँपालिकाका सबै वडा सदरमुकाम चामेबाट सञ्चालन गरिएको नार्पा भूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले बताउनुभयो ।

चिसो बढेपछि चक्रीय अन्नपूर्ण पदयात्रामा आउने पर्यटक घटेका छन् । केही दिनदेखि पदमार्ग सुनसान देखिन थालेको छ । मंसिर तेस्रो सातादेखि चिसो बढ्न थालेपछि यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको छ ।

केहि अघि सम्म मनाङ घुम्न दैनिक २ देखि ३ सय सम्म आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेपनि मंसिरको तेस्रो हप्तादेखि भने ठप्प जस्तै भएको छ । पर्यटक आगमन ठप्प जस्तैभए पछि मनाङको होटल व्यवसाय पनि सुनसान बन्दै गएको छ ।

सन् २०२३ को जनवरी देखि नोभेम्बरसम्म मनाङमा २० हजार ८ सय ६ जना विदेशी पर्यटकले मनाङको भ्रमण गरेका छन् । मनाङमा बिहानीपख तापक्रम माइनस ६ डिग्रीसम्म र राति ११ डिग्रीसम्म पुग्ने गरेको स्थानीय फूर्वा लामाले बताउनभुयो ।