
नेपाल शिक्षक संघ लमजुङले बेसीशहर नगरपालिकाले शिक्षक प्रति गरेको निर्णयलाई सच्चाउन माग गरेको छ । आइतबार बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याललाई ध्यानाकर्षण पत्र बुझाउँदै बेसीशहर ७ मा रहेको जनविकास माविका प्र.अ एकदेव घिमिरेलाई गरिएका भन्ने काज सरुवाको निर्णय सच्चाउन माग गरेको हो ।
नेपाल शिक्षक संघ लमजुङका अध्यक्ष सूर्यबहादुर के.सी र नेपाल शिक्षक संघ बेसीशहर नगर इकाइका अध्यक्ष एकदेव घिमिरेद्धारा हस्ताक्षरित पत्रमा बर्षे विदाको समयमा बद्नियत र पूर्वाग्राही भई जनविकास माविका प्र.अ एकदेव घिमिरेलाई प्र.अ बाट मुक्त गर्ने र काज सरुवा गरेको भन्ने बुझिएकाले सो निर्णय प्रति शिक्षक संघको असहमती रहेको हुनाले विद्यालय खुल्ने दिन साउन २३ गते भित्र पूर्वाग्रही र आस्थाको आधारम गरिएको निर्णयलाई सच्चाएर विद्यालयको शैक्षिक बातावरण सहज र सरल बनाउनको लागि अनुरोध गरिएको छ ।
बेसीशहर नगरपालिकाले गरेको उक्त निर्णय नसच्चाएमा चरणबद्ध आन्दोलन गर्ने र त्यसबाट विद्यार्थीको शिक्षण सिकाई क्रियाकलापमा पर्ने प्रभाावको जिम्वेवारी नगरपालिका नै हुने उल्लेख गरिएको छ ।