
लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, मिप्रामा बुधबारदेखि २०औँ कन्यादेवी कप–२०८३ सुरु भएको छ। कन्यादेवी क्लबको २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा पुरुष तथा महिला फुटबल खेल सञ्चालन हुने आयोजकले जनाएको छ।
क्लबका अध्यक्ष सुब्बा गुरुङको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गरेका हुन्। प्रतियोगितामा पुरुषतर्फ २४ टोली सहभागी भएका छन्।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङले खेलकुदले युवालाई सकारात्मक गतिविधिमा जोड्नुका साथै अनुशासन, आपसी सद्भाव र सहकार्यको भावना विकास गर्न सहयोग पुर्याउने बताए। उनले यस्ता प्रतियोगिताले खेलकुदको विकाससँगै स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने धारणा राखे।
‘खेलको विकासमा युवाहरूको सहभागिता, पर्यटन प्रवर्द्धनका लागि फुटबल प्रतियोगिता, पर्यटकीय गाउँ मिप्रा जाऔँ, फुटबल प्रतियोगितामा रमाऔँ’ भन्ने नारासहित आयोजित प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा प्रस्फुटन गर्नुका साथै मिप्राको पर्यटकीय पहिचान उजागर गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ।










