लमजुङमा ६३औँ विश्व सेतो छडी सुरक्षा दिवस मनाइयो, दृष्टिविहीनको सुरक्षित आवागमनमा जोड

-


     नयाँ दीप    
     असाेज २७ गते २०८३ मा प्रकाशित


दृष्टिविहीन व्यक्तिको सुरक्षित आवागमन, अधिकार र आत्मसम्मान सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै लमजुङमा ६३औँ विश्व सेतो छडी सुरक्षा दिवस मनाइएको छ।

मंगलबार भोटेओडारस्थित भक्ति नमुना माध्यमिक विद्यालयमा ट्राफिक सचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो। कार्यक्रमअघि सुन्दरबजार नगरपालिका–९, सिउँडीबारदेखि डुम्रे–बेँसीसहर सडक हुँदै विद्यालय परिसरसम्म र्‍याली निकालिएको थियो। विभिन्न सन्देश लेखिएका प्लेकार्ड बोकेर दृष्टिविहीनहरूले करिब एक किलोमिटर दूरी पार गरेका थिए।

नेपाल नेत्रहीन संघको समावेशी विकासका लागि कार्य परियोजनाको सहयोग तथा बेँसीसहर नगरपालिकासँगको सहकार्यमा लमजुङ नेत्रहीन संघले कार्यक्रम आयोजना गरेको हो। प्रत्येक वर्ष अक्टोबर १५ मा मनाइने यो दिवस दसैँलाई मध्यनजर गर्दै जिल्लामा मंगलबार नै मनाइएको आयोजकले जनाएको छ।

कार्यक्रम उद्घाटन गर्दै दोर्दी गाउँपालिकाका अध्यक्ष विच्छबहादुर घलेले दृष्टिविहीनसहित सबै अपांगता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न समाज र राज्य जिम्मेवार हुनुपर्ने बताए। उनीहरूलाई हेयको दृष्टिले हेर्ने प्रवृत्ति अन्त्य गर्दै शिक्षा, रोजगारी र स्वरोजगारका अवसर उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए।

नेपाल नेत्रहीन संघको समावेशी विकासका लागि कार्य परियोजनाका पुनर्स्थापना अधिकृत प्रेम महर्जनले विश्व सेतो छडी सुरक्षा दिवसको महत्त्व र ट्राफिक सचेतना कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए।

लमजुङ नेत्रहीन संघका अध्यक्ष राजेन्द्र घिमिरेले सेतो छडी दृष्टिविहीन व्यक्तिको स्वतन्त्रता, आत्मसम्मान र पहिचानको प्रतीक भएको बताए। सडकमा सेतो छडी प्रयोग गरेर हिँड्ने व्यक्तिको सुरक्षामा सबैले ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले सडक तथा सार्वजनिक सेवा अपांगतामैत्री बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा सार्वजनिक यातायातमा अपांगता भएका व्यक्तिलाई दिइने ५० प्रतिशत भाडा छुट प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने, रोजगारीका अवसर सुनिश्चित गर्नुपर्ने र विद्यालय, सरकारी कार्यालय तथा सार्वजनिक संरचनालाई अपांगतामैत्री बनाउनुपर्ने मागसमेत उठाइएको थियो।

कार्यक्रममा लमजुङ नेत्रहीन संघको भवन निर्माणका लागि जग्गादाता मोहनकृष्ण श्रेष्ठ, जग्गा प्राप्ति सहजीकरण संयोजक हरिप्रसाद अधिकारी र भविष्य निर्माण माध्यमिक विद्यालयका प्रधानाध्यापक मायानाथ अधिकारीलगायतले दृष्टिविहीन व्यक्तिको सहज जीवनयापनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

संघका सदस्य प्रभात घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव विष्णु पोख्रेलले सञ्चालन गरेका थिए। जिल्लाभरका दृष्टिविहीन व्यक्ति, उनीहरूका सहयोगी, ट्राफिक प्रहरी तथा जनप्रतिनिधिको सहभागिता रहेको परियोजनाका वरिष्ठ फिल्ड सुपरभाइजर जीवन डल्लाकोटीले जानकारी दिए।