
देशभर भोलिदेखि मौसममा क्रमिक सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी भूभागमा रहेको मौसमी प्रणाली दक्षिण–पूर्वतर्फ सर्दै कमजोर बनेकाले वर्षाको क्रम घट्दै जानेछ।
विभागका अनुसार आज दिउँसो र राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
पछिल्लो २४ घण्टामा सिराहामा सबैभन्दा धेरै १०३ दशमलव ४ मिलिमिटर वर्षा रेकर्ड भएको छ। भोलिदेखि तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।
मौसमविद् बिनु महर्जनका अनुसार सोमबार रातिदेखि देशभर वर्षा हुने सम्भावना न्यून हुँदै जानेछ।
यसैबीच, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका लागि पहेँलो चेतावनी जारी गरेको छ। मेघगर्जन र चट्याङको जोखिम कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।









