चाडपर्व लक्षित यात्रु सहायता कक्ष, लमजुङका पाँच ठाउँमा सञ्चालन

-


     नयाँ दीप    
     असाेज २१ गते २०८३ मा प्रकाशित


लमजुङ । दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै लमजुङमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। यात्राका क्रममा यात्रुले भोग्न सक्ने समस्या, सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी गुनासा र सुझावलाई तत्काल सम्बोधन गर्ने उद्देश्यले जिल्लाका पाँच स्थानमा सहायता कक्ष स्थापना गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुन्दरबजार नगरपालिका–७ पाउँदी, सुन्दरबजार–९ सिउँडीबार चोक, मध्यनेपाल नगरपालिका–७ पाखुरीचोक, बेसीशहर नगरपालिका–२ भकुण्डे चालिसेचोक र राइनास नगरपालिका–६ धमिलीकुवा चोकमा यात्रु सहायता कक्ष सञ्चालनमा आएका छन्।

यसैबीच बेसीशहर–२ भकुण्डे चालिसेचोकमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले यात्रु सहायता कक्षको उद्घाटन गरेका छन्।

उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत, लमजुङ कालिका यातायात प्रालिका अध्यक्ष पूर्णलाल श्रेष्ठ, बेसीशहर–२ का वडा सदस्य गुमानसिंह कँडेल, जिल्ला ट्राफिक कार्यालय लमजुङका प्रमुख गौतम खत्रीलगायत यातायात व्यवसायी तथा सम्बन्धित सरोकारवालाको सहभागिता थियो।

चाडपर्वका बेला जिल्लामा यात्रुको आवागमन बढ्ने भएकाले सहायता कक्षमार्फत यात्रुको सुरक्षा, सहज यात्रा र ट्राफिक व्यवस्थापनमा सहजीकरण गरिने प्रहरीले जनाएको छ।