
आफ्नो सम्पूर्ण अध्ययन यात्रामा परिवारको एक रुपैयाँ पनि खर्च हुन नदिनुभएका डा.देवकोटा नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रमा निष्ठा, कार्यकुशलता र सेवाभावको पर्यायवाची बन्नुभएको छ र आजका युवा चिकित्सकहरूका लागि एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ। बुबा नेत्रप्रसाद देवकोटा र आमा राजकुमारी देवकोटाको कोखबाट तीनजना सन्तान मध्ये कान्छो छोराको रुपमा गोरखाको ऐतिहासिक भूमि अजिरकोट-५ मा जन्मिनुभएका ३४ वर्षीय डा.देवकोटाको जीवन यात्रा सङ्घर्ष, समर्पण र अतुलनीय सफलताको एउटा प्रेरक कथा हो।
प्रारम्भिक सङ्घर्ष र शैक्षिक फड्को
डा. देवकोटाको प्रारम्भिक शिक्षा भने गाउँकै स्थानीय श्री चतुर्माला माबि विद्यालयबाट सुरु भएको थियो। उहाँका दाजु नर्सरी कक्षादेखि नै काठमाडौँमा अध्ययनरत हुनुहुन्थ्यो। काठमाडौँको राम्रो शिक्षाले दिने उज्ज्वल भविष्य महसुस गरी बुबाले शिशिरलाई पनि गाउँबाट ल्याएर कक्षा ३ मा काठमाडौँको एक बोर्डिङ स्कुलमा भर्ना गरिदिनुभयो।
गाउँको नेपाली माध्यमको विद्यालयबाट एक्कासि काठमाडौँको अङ्ग्रेजी बोर्डिङ स्कुलमा जाँदा सुरुवाती दिनहरू डा। देवकोटाका लागि निकै चुनौतीपूर्ण बने। अङ्ग्रेजी भाषा र नयाँ परिवेशको सामना गर्न कठिन भएपछि, काठमाडौँ प्रवेश गरेको तीन महिनामै भएको पहिलो त्रैमासिक परीक्षामा उहाँ ८ वटा विषयमध्ये ७ वटामा अनुत्तीर्ण हुनुभयो, केवल नेपाली विषयमा मात्र उत्तीर्ण हुनुभयो।
यो नतिजा कुनै पनि बालकका लागि निराशाको कारण बन्न सक्थ्यो, तर शिशिरका लागि यो हार कडा मिहिनेत गर्ने सबैभन्दा ठूलो उत्प्रेरणा बन्यो। असफलतालाई चुनौतीका रूपमा स्वीकार गर्दै उहाँले अध्ययनमा दिनरात पसिना बगाउनुभयो। फलस्वरूप, कक्षा ३ बाट ४ मा जाँदा नै उहाँ द्वितीय हुनुभयो र कक्षा ४ बाट ५ मा पुग्दा स्कुल प्रथम हुन सफल हुनुभयो। त्यसपछि उहाँले शैक्षिक यात्रामा कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन।

शून्य लागतमा उत्कृष्ट चिकित्सा शिक्षा
एसएलसी (SLC) र १०+२ (Plus 2) दुवै बोर्ड परीक्षामा विशिष्ट श्रेणी (Distinction) हासिल गरेपछि डा. देवकोटाले आफ्नो प्राथमिक लक्ष्य चिकित्सक बन्ने बनाए। आफ्नो पहिलो प्रयासमै उहाँले MBBS को कठिन प्रवेश परीक्षा उत्तीर्ण गरी पूर्ण छात्रवृत्ति (Full Scholarship) मा एमबिबिएस (MBBS) पढ्ने अवसर प्राप्त गर्नुभयो।
एमबिबिएस अध्ययन पूरा गरेपछि कबुलियतनामा (Bonding) अनुसार उहाँले भरतपुर अस्पतालमा सेवा सुरु गर्नुभयो। भरतपुरमा बिरामीको सेवा गर्दागर्दै उहाँले पहिलोपटक २०७४ सालमा लोकसेवा आयोगको परीक्षा दिनुभयो र पहिलो प्रयासमै स्थायी सरकारी मेडिकल अधिकृतका रूपमा नाम निकाल्न सफल हुनुभयो।
भजानीमा स्वास्थ्य क्रान्ति
लोकसेवामा छनोट भएपछि डा. देवकोटाको पहिलो पदस्थापन सुदूरपश्चिमको विकट क्षेत्र कैलालीस्थित भजानी प्राथमिक स्वास्थ्य केन्द्रमा भयो। त्यतिबेला भजानी स्वास्थ्य केन्द्रमा दैनिक २० देखि ३० जना मात्र बिरामी उपचारका लागि आउने गर्दथे।
डा. देवकोटाले भजानी पुगेपछि त्यहाँको स्वास्थ्य व्यवस्थामा व्यापक सुधार ल्याउने अभियान थाल्नुभयो। उहाँको अथक प्रयासबाट एक्स-रे (X-Ray), भिडियो एक्स-रे (USG), दन्त सेवा (Dental Services), क्यान्सर स्क्रिनिङ, बिरामी भर्ना (In-patient) तथा पोष्टमार्टम जस्ता जटिल र अत्यावश्यक सेवाहरू प्राथमिक स्वास्थ्य केन्द्रस्तरमै सुरु भए। पूर्वाधार र सेवामा भएको यो परिवर्तनले गर्दा भजानीमा बिरामीको चाप दैनिक १८० देखि २०० सम्म पुग्यो। एउटा सामान्य स्वास्थ्य केन्द्रलाई मिनी-अस्पतालको रूपमा रूपान्तरण गरेर उहाँले स्थानीय बासिन्दालाई अचम्मित बनाइदिनुभयो। यही निःस्वार्थ समर्पणका कारण भजानीवासीहरू आज पनि डा. देवकोटाको योगदानलाई श्रद्धा र सम्मानका साथ स्मरण गर्छन्।

कोरोना महामारी र पर्वत अस्पतालको पुनर्स्थापना
कर्मचारी समायोजन पश्चात् डा. देवकोटा पर्वत अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (प्रमुख) का रूपमा जिम्मेवारी सम्हाल्न पुग्नुभयो। उहाँको कार्यकालमै विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी (COVID-19) को विकराल रूप देखियो।
महामारीको विषम परिस्थितिमा डा. देवकोटा अग्रपङ्क्तिमा खटिएर कार्यकुशलताको परिचय दिनुभयो। उहाँको नेतृत्वमा पर्वत अस्पतालले गरेको कोभिड व्यवस्थापन गण्डकी प्रदेशकै लागि एउटा नमुना (Model) बन्यो। उहाँकै दूरदर्शी पहलमा पर्वत अस्पतालमा पहिलोपटक डायलाइसिस सेवा सुरु भयो। साथै, उहाँको कार्यकालमा:
एसएनसियु (SNCU – नवजात शिशु सघन उपचार कक्ष), आइसियु (ICU) र भेन्टिलेटर, अक्सिजन प्लान्टको स्थापना, शल्यक्रिया (Operation) सेवाको व्यापक विस्तार जस्ता महत्त्वपूर्ण पूर्वाधारहरू थपिए।
टीयू गोल्ड मेडल र विशेषज्ञता हासिल
आफ्नो सम्पूर्ण अध्ययन यात्रामा परिवारको एक रुपैयाँ पनि खर्च हुन नदिनुभएका डा. देवकोटाले उच्च शिक्षामा पनि सोही इतिहास दोहोर्याउनुभयो। उहाँले स्नातकोत्तर (Master of Surgery – MS in General Surgery) को प्रवेश परीक्षामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (TUTH, महाराजगञ्ज) मा पुनः पूर्ण छात्रवृत्तिमै नाम निकाल्नुभयो।
विशेषज्ञ अध्ययनका क्रममा उहाँले देखाउनुभएको असाधारण प्रतिभाका कारण त्रिभुवन विश्वविद्यालयबाट ‘टियु गोल्ड मेडल’ (TU Gold Medal) प्राप्त गरी आफ्नो विधामा सर्वोत्कृष्ट ठहरिनुभयो।

लमजुङ अस्पतालमा नयाँ उचाइ
स्नातकोत्तर पूरा गरेपछि र प्रदेश सरकारको ९औँ तहमा बढुवा भएपछि डा. देवकोटाको पदस्थापन लमजुङ अस्पतालमा भयो। विगत दुई वर्षदेखि लमजुङमा प्रमुख शल्यचिकित्सक (Chief Surgeon) का रूपमा कार्यरत रहँदै उहाँले त्यहाँको शल्यक्रिया विभाग (Surgery Department) लाई आधुनिक र प्रविधियुक्त बनाउनुभएको छ। उहाँकै सक्रियतामा अस्पतालमा दूरबिन प्रविधिबाट गरिने जटिल शल्यक्रिया (Laparoscopic Surgery) लगायतका विशेषज्ञ सेवाहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्।
उहाँको निरन्तरको मिहिनेत र चिकित्सा क्षेत्रमा पुर्याउनुभएको योगदानको कदर गर्दै उहाँलाई प्रतिष्ठित ‘टोरन्ट युङ स्कोलर अवार्ड’ (Torrent Young Scholar Award) तथा ‘गण्डकी प्रदेश युवा उत्कृष्टता पुरस्कार’ (Youth Excellence Award) बाट सम्मानित गरिएको छ।
भावी सङ्कल्प र महत्त्वाकाङ्क्षी कार्ययोजना
लमजुङ र आसपासका ग्रामीण क्षेत्रका जनतालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन डा. शिशिर देवकोटाले केही ठोस र महत्त्वाकाङ्क्षी योजनाहरू अघि सार्नुभएको छ:
1. रक्तसञ्चार केन्द्र (Blood Bank) को स्थापना: शल्यक्रिया तथा आपत्कालीन अवस्थामा रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्नका लागि पूर्ण क्षमताको ब्लड बैंक स्थापना गर्ने।
2. बायोप्सी (Biopsy) जाँच सेवा: क्यान्सर तथा अन्य जटिल रोगको स्थानीय स्तरमै पहिचान गर्न अस्पतालमै बायोप्सी परीक्षणको पहुँच पुर्याउने।
3. एनआइसियु (NICU) सेवा सञ्चालन: गम्भीर बिरामी नवजात शिशुहरूको उपचारका लागि नवजात शिशु सघन उपचार कक्ष (NICU) सञ्चालनमा ल्याउने।
4. सुलभ स्वास्थ्य सेवाको ग्यारेन्टी: “आर्थिक अभाव वा गरिबीका कारण कुनै पनि नागरिक उपचार नपाएर वञ्चित हुनु नपरोस्” भन्ने मूल मन्त्रलाई व्यावहारिक रूपमै पूर्णता दिने।

डा. देवकोटाका एमबिबिएसका ८० प्रतिशतभन्दा बढी साथीहरू आज विदेशमा अध्ययन वा रोजगारीका क्रममा कार्यरत छन्। उहाँका आफ्नै दाजु, भाउजु र दिदीहरू पनि विदेशमै हुनुहुन्छ। साथै, डा. देवकोटा स्वयम्ले पनि विभिन्न वैदेशिक भ्रमणका क्रममा संसारका थुप्रै विकसित देशहरू प्रत्यक्ष रूपमा नियाल्ने अवसर पाउनुभएको छ।
चाहेको भए उहाँका लागि पनि विदेश जाने बाटो सहजै खुला थियो। तर, संसारका धेरै देशहरू घुम्दा पनि नेपालमा पाइने जस्तो आत्मीयता, आदर, संस्कार, संस्कृति र साँचो आत्मीयता संसारको कुनै पनि कुनामा नभेटिएको अनुभूति डा. देवकोटाले गर्नुभयो।

विदेशको भौतिक सुखभन्दा आफ्नै मातृभूमिको माटो, यहाँका दाजुभाइ, दीदीबहिनीको माया र जन्मदिने आमाबुबाको साथमा रहेर उहाँहरूको सेवा गर्नु उहाँका लागि प्राथमिकताको विषय बन्यो।आफ्नो देश र आमाबुबाभन्दा ठूलो संसारमा अरू केही हुँदैनू भन्ने अटल विश्वासका साथ उहाँले नेपालमै बसेर जनताको सेवा गर्ने कठिन तर पवित्र मार्ग रोज्नुभयो।
गाउँको सामान्य परिवेश र असफलताको सुरुआती धक्काबाट सुरु भएको डा. शिशिर देवकोटाको यो यात्रा आज नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रका लागि एउटा स्वर्णिम उदाहरण बनेको छ। निष्ठा, निरन्तर मिहिनेत र समाजप्रतिको उत्तरदायित्वले एउटा व्यक्तिलाई कसरी राष्ट्रकै गौरव बनाउन सक्छ भन्ने प्रमाण डा. देवकोटाको जीवनले दिन्छ।










