
लमजुङ । मर्स्याङ्दी गाउँपालिका–६ नाइचेमा निर्माणाधीन सुपर ङादी हाइड्रोपावर आयोजनामा तीन दिनको अन्तरालमा दुई कामदार भीरबाट खसेका छन्। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
सोमबार बिहान आयोजनामा काम गरिरहेका सप्तरीको सप्तकोशी नगरपालिका–८ का ३७ वर्षीय रमेशकुमार चौधरी कार्यस्थल नजिकैको भीरबाट करिब २० मिटर तल खसेका थिए। गम्भीर घाइते चौधरीलाई उद्धार गरी प्रदेश अस्पताल लमजुङ ल्याइए पनि उपचारका क्रममा दिउँसो सवा २ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
यसअघि असोज १७ गते दाङको तुलसीपुर उपमहानगरपालिका–८ का ३२ वर्षीय रविन बस्नेत पनि आयोजनास्थलबाट करिब एक किलोमिटर माथि त्रिपाल लिन जाने क्रममा भीरबाट खसेका थिए।
बाटोमा सन्तुलन गुमाउँदा करिब ६० मिटर तल खोंचमा खसेका बस्नेतको छाती र बायाँ हातमा गम्भीर चोट लागेको छ। उनको प्रदेश अस्पताल लमजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
लगातार दुई दुर्घटना भएपछि आयोजनामा कार्यरत कामदारको सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठेको छ।









