
लमजुङ । चाडपर्व नजिकिएसँगै जिल्ला बजार अनुगमन समितिले मर्स्याङ्दी गाउँपालिकाका विभिन्न स्थानमा बजार अनुगमन गरेको छ। आइतबार गरिएको अनुगमनका क्रममा सात वटा व्यवसायको निरीक्षण गरिएको हो।
अनुगमन गरिएका व्यवसायमा एक फ्रेस हाउस, दुई होटल तथा रेस्टुरेन्ट र चार किराना पसल रहेका छन्। यसअघि अनुगमनका क्रममा दिइएका निर्देशन व्यवसायीहरूले पालना गरेको पाइएको जिल्ला बजार अनुगमनका फोकल पर्सन खरिदार दिननाथ अधिकारीले जानकारी दिनुभयो।
अनुगमन टोलीमा जिल्ला बजार अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, मर्स्याङ्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, एकीकृत सेवा कार्यालयका प्रतिनिधि कमल भण्डारी, जिल्ला प्रशासन कार्यालयका लेखापाल डम्मर खत्री, प्रहरी चौकी खुदीका प्रहरी जवान राजेन्द्र नकाल तथा लमजुङ उद्योग वाणिज्य संघ मर्स्याङ्दी गाउँपालिका इकाइका उपाध्यक्ष ऋषिराम बस्नेत सहभागी हुनुहुन्थ्यो।
चाडपर्वका समयमा बजारमा हुन सक्ने अनियमितता नियन्त्रण, उपभोक्ता हित संरक्षण तथा व्यवसायीलाई जिम्मेवार बनाउन बजार अनुगमनलाई निरन्तरता दिइने समितिले जनाएको छ।
यद्यपि, चाडपर्व नजिकिँदा मात्रै बजार अनुगमन हुने गरेको र नियमित अनुगमन प्रभावकारी हुन नसकेको गुनासो उपभोक्ताबाट आउने गरेको छ। बजारमा एउटै वस्तुको मूल्य पसलअनुसार फरक–फरक हुने, मूल्यमा एकरूपता नहुने तथा कतिपय व्यवसायमा मूल्यसूची स्पष्ट रूपमा नराखिएको अवस्थाले उपभोक्ता थप मारमा पर्ने गरेका छन्।
चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले मूल्यवृद्धि, म्याद गुज्रिएका सामानको बिक्री तथा कृत्रिम अभावजस्ता समस्या हुन नदिन नियमित र प्रभावकारी बजार अनुगमन आवश्यक देखिएको छ।









