
लमजुङ । चीनको युनान प्रान्तस्थित फुगोंग काउन्टीमा आयोजित सांस्कृतिक कार्यक्रममा लमजुङको मौलिक कला र संस्कृति प्रस्तुत गरिएको छ। दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीसहित नेपाली कलाकारको टोलीले देउसी–भैलो र कौरा नृत्य प्रस्तुत गर्दै नेपाली संस्कृति चीनमा चिनाएको हो।
‘लेट द वल्र्ड हियर नुजियाङ’ सांस्कृतिक आदानप्रदान कार्यक्रममा नेपाली कलाकारले मौलिक पोसाकसहित परम्परागत नृत्य प्रस्तुत गरेका थिए। प्रस्तुतिले स्थानीय दर्शक तथा कार्यक्रममा सहभागी पर्यटकको ध्यान आकर्षित गरेको थियो।
कार्यक्रममा अध्यक्ष अधिकारीसहित गाउँपालिका उपाध्यक्ष बिच्छबहादुर घले, वडा नं. ९ का अध्यक्ष आशिष तामाङ, फलेनी माध्यमिक विद्यालय हिलेबजारका प्रधानाध्यापक केदार बोहरा र अमरज्योति माध्यमिक विद्यालयका शिक्षक जोगमाया गुरुङ सहभागी हुनुहुन्थ्यो।

अध्यक्ष अधिकारीले दोर्दी गाउँपालिकाको तर्फबाट शुभकामना सन्देश प्रस्तुत गर्दै फुगोंग काउन्टीसँगको सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले पर्यटन, संस्कृति, कृषि, शिक्षा तथा युवाबीचको आदानप्रदानलाई निरन्तरता दिँदै दुई क्षेत्रबीचको सहकार्य थप मजबुत बनाउनुपर्ने बताउनुभयो।
फुगोंग काउन्टी र दोर्दी गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएपछि दुई क्षेत्रबीच विभिन्न क्षेत्रमा सहकार्य र मैत्रीपूर्ण आदानप्रदान हुँदै आएको छ। विशेषगरी पर्यटन, संस्कृति, कृषि, शिक्षा तथा युवा आदानप्रदानलाई प्राथमिकतामा राखिएको छ।
फुगोंगको शियुएलियाङ स्क्वायरमा आयोजित कार्यक्रममा नेपाली टोलीसँगै चीनका विभिन्न सांगीतिक समूह तथा कलाकारको समेत प्रस्तुति रहेको थियो।









