लक्ष्मी नारायण सहकारीको १४औँ साधारण सभा सम्पन्न, पूर्व अध्यक्ष सम्मानित

-


     नयाँ दीप    
     असाेज १७ गते २०८३ मा प्रकाशित


लमजुङको बेँसीशहर नगरपालिका–८ मा रहेको लक्ष्मी नारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

संस्थाकी अध्यक्ष कान्तीदेवी घिमिरेको अध्यक्षतामा भएको सभामा बेँसीसहर नगरपालिका–८ की वडा अध्यक्ष पवित्रा थापा राना प्रमुख अतिथि रहनुभएको थियो।

साधारण सभाका अवसरमा संस्थाको स्थापना कालदेखि विभिन्न समयमा नेतृत्व गर्दै संस्थाको विकास र प्रगतिमा योगदान पुर्‍याएका चार जना पूर्व अध्यक्षलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएकी सिर्जना बराल घिमिरे, संस्थापक अध्यक्ष शोभा थापा, पूर्व अध्यक्ष सीता न्यौपाने अधिकारी र पार्वती तामाङ रहनुभएको छ।

सम्मानित पूर्व अध्यक्षहरूमध्ये शोभा थापा, सृजना बराल र सीता न्यौपानेले संस्थाको विगतका गतिविधि, उपलब्धि तथा आगामी प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

सभामा अध्यक्ष कान्तीदेवी घिमिरेले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष विनिता बोहराले आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। उपाध्यक्ष मैया कुमारी श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सञ्चालक समिति सदस्य खातुन मिया र सूर्यदेवी घिमिरेले शुभकामना मन्तव्य दिनुभएको थियो।

त्यस्तै, लेखा समिति संयोजक अमृता पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव विमला पौडेलले गर्नुभएको थियो।

महिलाहरुद्धारा मात्रै २०६९ सालमा स्थापना भएको सहकारीमा हाल १ हजार ५ सय ६५ जना शेयर सदस्य आबद्ध छन्। संस्थाको कुल शेयर पूँजी ८२ लाख १६ हजार ९ सय रुपैयाँ पुगेको जनाइएको छ।