स्याङ्गेमा बलेरो जिप दुर्घटना, चार जना घाइते

-


     नयाँ दीप    
     असाेज १५ गते २०८३ मा प्रकाशित


लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा बलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

बिहीबार साँझ करिब ५ः५५ बजे बेँसीसहरबाट स्याङ्गेतर्फ जाँदै गरेको ग १ ज ७९२६ नम्बरको बलेरो जिप अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा जिप चालक मर्स्याङ्दी गाउँपालिका–५ का २४ वर्षीय राजु गुरुङ, सोही स्थानका ५५ वर्षीय देवीजंग गुरुङ, ४३ वर्षीय योगबहादुर गुरुङ र जिपधनी २६ वर्षीय देवन गुरुङ घाइते भएका छन्।

प्रहरीका अनुसार राजु र देवीजंगको अवस्था सामान्य रहेको छ भने योगबहादुरको काँधमा चोट लागेको छ। जिपधनी देवनको टाउको, हात र खुट्टामा चोट लागेकाले अवस्था गम्भीर रहेको बताइएको छ।

घाइते चारै जनालाई उपचारका लागि प्रदेश अस्पताल लमजुङ पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि अस्थायी प्रहरी पोस्ट जगतबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन गरेको नदेखिएको र जिप घटनास्थलमै रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।