
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार मनाङको चामेमा बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
पोखराबाट नेपाली सेनाको हेलिकप्टरमार्फत चामे पुगेका मुख्यमन्त्री पाण्डेले सदरमुकाम चामेबाट माथिल्लो मनाङ जोड्ने मोटरेबल पुल तथा आसपासका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा उनले मर्स्याङ्दी नदीमा बाढीपहिरोसँगै थुप्रिएको लेदो, बालुवा, गिटी, ढुंगा तथा गेग्र्यान हटाउने कामबारे जानकारी लिएका थिए।
बाढीपहिरोका कारण सडक तथा पुलमा क्षति पुगेको र आवागमन प्रभावित भएको अवस्थामा तत्काल आवश्यक काम अघि बढाउने मुख्यमन्त्री पाण्डेले बताए। प्रभावित नागरिकका लागि राहत, इन्धन, सडक, पुल, खानेपानी तथा अन्य अत्यावश्यक पूर्वाधार सञ्चालनलाई प्राथमिकता दिने उनको भनाइ छ।
तल्लो क्षेत्रमा सडक अवरुद्ध हुँदा इन्धन अभाव हुन सक्ने भएकाले आवश्यक परे हेलिकप्टरमार्फत इन्धन उपलब्ध गराउने उनले बताए। तत्काल गर्न सकिने काम प्रदेश र स्थानीय तहबाट अघि बढाउने तथा ठूला र दीर्घकालीन पुनर्निर्माणका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री पाण्डेले बताएका जिल्ला प्रहरी कार्यालय मनाङका निमित्त प्रमुख प्रहरी निरीक्षक विनोद बोहराका जानकारी दिनुभएको छ ।
निरीक्षणमा नेपाली सेनाको पश्चिम पृतना पोखराका पृतनापति उपरथी भोलानाथ थापा, गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ गुरुङ, चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घले, प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी कोपिला चुडाल, सशस्त्र प्रहरी बल नेपाल नं। ३२ गुल्म चामेका डीएसपी मनोज चन्द तथा नेपाली सेनाको नयाँ भैरवी दल गुल्मका गुल्मपति सेनानी अभिषेक पाण्डेलगायत सहभागी थिए।









