
नेपाली कांग्रेस लमजुङका आठवटै पालिका सभापतिहरूले आसन्न क्षेत्रीय अधिवेशनमा गुट–उपगुटभन्दा माथि उठेर पार्टीको हितलाई केन्द्रमा राख्दै सहमतिबाट नेतृत्व चयन गर्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्।
पालिका र वडा अधिवेशन सम्पन्न भइसकेपछि कांग्रेस लमजुङमा अब क्षेत्रीय अधिवेशन तथा अधिवेशन प्रतिनिधि चयनको प्रक्रिया अघि बढेको छ। पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज १० गतेबाट सुरु हुने भनिएको प्रक्रिया दुई दिन पछि सारिएपछि हो। आज १२ गते मतदाता नामावली दर्ता तथा अन्तिम मतदाता नामावली प्रकाशनको कार्यक्रम रहेको छ भने असोज १३ गते निर्वाचन प्रक्रिया अघि बढाउने तयारी छ।
यसै सन्दर्भमा पालिका सभापतिहरूले संयुक्त अपिल जारी गर्दै अधिवेशनलाई व्यक्तिगत स्वार्थ, गुट–उपगुट र समूहगत प्रतिस्पर्धाभन्दा माथि उठाएर पार्टीको एकता र संगठनको हितमा केन्द्रित गर्न आग्रह गरेका छन्। उनीहरूले योग्य, सक्षम र पार्टीप्रति प्रतिबद्ध नेतृत्व चयनका लागि प्रतिनिधिहरूलाई विवेकपूर्ण निर्णय गर्न पनि अपिल गरेका छन्।
संयुक्त अपिलमा बेँसीशहर नगरपालिकाका सभापति पूर्णबहादुर थापा, राइनास नगरपालिकाका नुरराज कँडरिया, सुन्दरबजार नगरपालिकाका उत्तम गुरुङ, मध्यनेपाल नगरपालिकाका कम प्रसाद गुरुङ, मर्स्याङ्दी गाउँपालिकाका लोकनाथ घिमिरे, दोर्दी गाउँपालिकाका लालबहादुर गुरुङ, क्व्होलासोथर गाउँपालिकाका राजु गुरुङ र दूधपोखरी गाउँपालिकाका कमलप्रसाद धितालले हस्ताक्षर गरेका छन्।
अपिलमार्फत उनीहरूले अधिवेशनको प्रतिस्पर्धालाई व्यक्तिगत सम्बन्ध बिगार्ने वा गुटगत विभाजन बढाउने माध्यम नबनाउन आग्रह गरेका छन्। पार्टीको विधि, विधान, लोकतान्त्रिक मूल्य–मान्यता र संगठनको भविष्यलाई केन्द्रमा राखेर आपसी सहमति, सहकार्य र सद्भावका साथ नेतृत्व चयन गर्नुपर्ने उनीहरूको भनाइ छ।
अब पालिका सभापतिहरूले गरेको यो अपिललाई जिल्ला तहका नेता तथा कार्यकर्ताले कत्तिको मनन गर्छन् र क्षेत्रीय अधिवेशनमा गुट–उपगुटभन्दा माथि उठेर सहमतिबाट नेतृत्व चयनको प्रयास हुन्छ कि निर्वाचनमार्फत प्रतिस्पर्धा अघि बढ्छ भन्ने विषय चासोको रूपमा हेरिएको छ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका छ।










