
हिजोसम्म तिमी सङ्लो थियौ,
आज धमिलो भएर आयौ,
लड्दै–बढ्दै, ड्याङडुङ गर्दै,
कुन वेग लिएर ओर्लिएर आयौ ?
यसरी उर्लिएर आउँदा
तिमीलाई पनि कतै दुख्छ होला,
तर तिम्रो यो उग्र रूप देख्दा
मानव बस्तीको मुटु झन् कति दुख्छ होला !
तिमीलाई त आफ्नै बाटो थाहा छ,
आफ्नै सुर छ, आफ्नै ताल छ,
जतिसुकै रूप फेरिएर आए पनि
हामीलाई त तिम्रो मायामै विश्वास छ !
तर ए मर्स्याङ्दी‘
भोटेकोसीझैँ बौलाएर नआइदेऊ,
किनारका सपना,
घरका आँगन,
मान्छेका खुसीहरू
आफूसँगै बगाएर नलैजाऊ !
तिमी आफ्नै सुरमा बगिरहनू,
आफ्नै तालमा गीत गाइरहनू,
पहाडका काख हुँदै
समुद्रतिरको यात्रामा लागिरहनू !
तर बिन्ती छ।।।
मानव बस्तीहरूलाई नबगाइदेऊ,
आमाका आँसु नबगाइदेऊ,
बालबालिकाका सपना नबगाइदेऊ,
कसैको घरको चुलो ननिभाइदेऊ !
तिमी नदी हौ।।
जीवन दिनू,
हरियाली दिनू,
समृद्धि ल्याउनू‘
तर विनाशको कथा बनेर होइन !
ए मर्स्याङ्दी नदी‘
उर्लिएर आउँदा पनि
हामीलाई सम्झेर आउनू,
तिम्रो किनारमा बसेका मान्छेहरूलाई
आफ्नै परिवार सम्झेर बग्नू …..
प्रदिप गुरुङ
मर्स्याङदी गाउँपालिका
लमजुङ,









