
लमजुङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लमजुङ जिल्लाको निर्वाचन कार्यक्रमको नयाँ तालिका सार्वजनिक भएको छ। यसअघि असोज १० गतेका लागि तय गरिएको निर्वाचन कार्यक्रम भारी वर्षाको सम्भावना र केन्द्रीय निर्वाचन समितिको निर्देशनअनुसार स्थगित गरिएको थियो।
निर्वाचन अधिकृतको कार्यालय लमजुङका अनुसार अब असोज १२ गते उम्मेदवारी मनोनयन दर्ता र असोज १३ गते मतदान हुने भएको छ।
जिल्ला निर्वाचन अधिकृत अधिवक्ता सन्तोषमणि लामिछानेद्वारा जारी सूचनाअनुसार महाधिवेशन प्रतिनिधि, गण्डकी प्रदेश अधिवेशन प्रतिनिधि तथा प्रदेशसभा क्षेत्रीय कार्यसमिति क र ख को निर्वाचन प्रक्रिया बेसीशहर नगरपालिका–८ स्थित बीपी स्मृति भवन लमजुङ जिल्ला पार्टी कार्यालयमा सञ्चालन हुनेछ।
निर्वाचन कार्यतालिकाअनुसार असोज १२ गते बिहान ९ बजे मतदाताको प्रथम नामावली प्रकाशन हुनेछ। बिहान ९ः३० बजे दाबी–विरोध तथा ११ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ।
त्यसपछि बिहान ११ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ। दिउँसो ३ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ भने ३ः४० बजेदेखि साँझ ५ः३० बजेसम्म दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको समय तोकिएको छ। साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
असोज १३ गते बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उम्मेदवार बन्न चाहने क्षेत्रीय प्रतिनिधिले नेपाली कांग्रेसको विधान तथा निर्वाचन निर्देशिकाबमोजिम उम्मेदवारी शुल्क र लेबी बुझाएको निस्सा पेश गर्नुपर्नेछ। उम्मेदवारी स्वयं उपस्थित भएर वा कानुनबमोजिमको वारेसनामामार्फत दर्ता गर्न सकिने जनाइएको छ।









