पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अनिश्चितकालका लागि बन्द

-


     नयाँ दीप    
     असाेज ९ गते २०८३ मा प्रकाशित


चितवन । लगातारको वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खस्नुका साथै थप जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अनिश्चितकालका लागि बन्द गरिएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म सडक बन्द गर्ने निर्णय गरिएको थियो। तर वर्षा नरोकिएपछि अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमन रोकिएको हो।

पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेका कारण जोखिम बढेको र यात्रुको सुरक्षालाई ध्यानमा राखेर सडक बन्द गरिएको प्रशासनले जनाएको छ।

नारायणगढ–मुग्लिन सडकमा दैनिक १० हजारभन्दा बढी तथा पृथ्वी राजमार्गमा १४ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गर्छन्। सडक बन्द भएपछि ठूलो संख्यामा यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका छन्।