क्व्होलासोथार गाउँपालिकाबाट बाढीपीडितलाई २४ लाख १७ हजार सहयोग

-


     नयाँ दीप    
     असाेज २ गते २०८३ मा प्रकाशित


लमजुङ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि क्व्होलासोथार गाउँपालिकाले २४ लाख १७ हजार ५५६ रुपैयाँ सहयोग गर्ने भएको छ।

गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक–विद्यालय कर्मचारीको तलब र सेवा सुविधाबाट निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार कार्यपालिका बैठकले विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट ३ लाख रुपैयाँ उपलब्ध गराइनेछ। यस्तै, जनप्रतिनिधिको १५ दिन बराबरको सेवा सुविधाबाट ३ लाख ८७ हजार ४ सय रुपैयाँ सहयोग गरिनेछ।

अधिकृतस्तरका कर्मचारीको ७ दिन, सहायकस्तरका कर्मचारीको ४ दिन र श्रेणीविहीन कर्मचारीको २ दिन बराबरको तलबबाट ५ लाख ६६ हजार ३३६ रुपैयाँ राहत कोषमा जम्मा गरिने गाउँपालिकाले जनाएको छ।

त्यसैगरी शिक्षक तथा विद्यालयका कर्मचारीको तलबबाट ११ लाख ६३ हजार ८२० रुपैयाँ सहयोग गरिनेछ। माध्यमिक तह द्वितीय र तृतीय श्रेणी तथा निम्नमाध्यमिक तह द्वितीय श्रेणीका शिक्षकबाट ७ दिन, निम्नमाध्यमिक तह तृतीय तथा प्राथमिक तह द्वितीय र तृतीय श्रेणीका शिक्षकबाट ५ दिन र बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीबाट २ दिन बराबरको तलब कट्टा गरिने जनाइएको छ।

गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै गाउँपालिकाले दुःख व्यक्त गरेको छ।

गाउँपालिकाले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना जनाएको छ। विपद्बाट प्रभावित नागरिकको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराउन लागिएको गाउँपालिकाले जनाएको छ।