
लमजुङ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै लमजुङको मर्स्याङ्दी गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो आधा महिनाको सेवा सुविधा बाढीपीडितको राहतका लागि उपलब्ध गराउने भएका छन्।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बिहीबार जारी गरेको अपिलमार्फत बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरिएको छ। साथै, बाढीका कारण घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
अपिलमा विपद्को यस्तो संवेदनशील अवस्थामा प्रभावित नागरिकलाई राहत तथा सहयोग गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरिएको छ। सोही भावनाअनुसार गाउँपालिकाका जनप्रतिनिधिले आफूहरूले पाउने आधा महिनाको सेवा सुविधा नेपाल सरकारको आधिकारिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले आफ्नो क्षेत्रका कुनै नागरिक बाढीबाट प्रभावित भएको वा सम्पर्कविहीन रहेको भए त्यससम्बन्धी विवरण तत्काल गाउँपालिकालाई उपलब्ध गराउन समेत अनुरोध गरेको छ। यसबाट प्रभावित तथा जोखिममा रहेका नागरिकको अवस्थाबारे आवश्यक समन्वय र सहयोग गर्न सहज हुने गाउँपालिकाको भनाइ छ।
त्यस्तै, विपद्को समयमा विभिन्न संघ–संस्था, समाजसेवी, उद्योगी, व्यवसायी तथा आम नागरिकलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्न गाउँपालिकाले अपिल गरेको छ।
आर्थिक सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले रकम प्रदान गर्दा नेपाल सरकारको आधिकारिक राहत कोषमार्फत मात्र सहयोग गर्नसमेत गाउँपालिकाले आग्रह गरेको छ।
‘शोकलाई शक्तिमा बदलौं, राहत र पुनर्स्थापनामा जुटौं’ भन्ने सन्देशसहित गाउँपालिकाले विपत्तिको यस कठिन परिस्थितिमा सबै पक्ष एकजुट भएर प्रभावित नागरिकको सहयोग र पुनर्स्थापनामा लाग्न आह्वान गरेको छ।









