त्रिवेणी युवा क्लबको आयव्यय सार्वजनिक, बैंकमा ५९ लाख बढी मौज्दात

-


     भरत बाबु घिमिरे    
     भाद्र ६ गते २०८३ मा प्रकाशित


लमजुङको बेसीशहर ७ मा रहेको त्रिवेणी युवाले आर्थिक वर्ष २०८२ र ८३ को आयव्यय विवरण सार्वजनिक गरेको छ। बेसीसहरमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष टेकजङ गुरुङले वार्षिक आयव्यय तथा जिल्ला कै सर्वाधिक १२ लाख रुपैँया राशी पुरस्कार भएको ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगितासहित क्लबले सञ्चालन गरेका विभिन्न गतिविधिको आम्दानी र खर्च विवरण प्रस्तुत गर्नुभयो।

क्लबको विवरण अनुसार कुल हिसाब १ करोड ६१ लाख १७ हजार ९ सय ३ रुपैयाँ ६३ पैसा रहेको छ। त्यसमध्ये ९६ लाख १९ हजार १ सय ९६ रुपैयाँ खर्च भएको र ५९ लाख ९८ हजार ७ सय ७ रुपैयाँ बैंक मौज्दात रहेको छ। साथै, हिसाबमा ५ लाख रुपैयाँ बराबरको रकम छुट्टै समायोजन गरिएको देखिन्छ।
क्लबले विभिन्न व्यक्ति, संस्था तथा सामाजिक कार्यमा गरेको आर्थिक सहयोग तथा अन्य कार्यक्रम सञ्चालन खर्च १६ लाख ७५ हजार ७ सय ७२ रुपैयाँ रहेको छ। यस्तै, ३३ औँ त्रिवेणी कपका क्रममा खेलाडी प्रोत्साहन, जर्सी तथा सामग्री, आमन्त्रित टोली व्यवस्थापन, प्याराफिट, रेफ्री, अतिथि सत्कार, खेलमैदान मर्मत, सञ्चार तथा अन्य व्यवस्थापनमा उल्लेख्य रकम खर्च गरिएको विवरणमा उल्लेख छ।

कार्यक्रममा त्रिवेणी युवा क्लबका उपाध्यक्ष इन्द्र रानाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव अच्युत पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। क्लबका कोषाध्यक्ष केस रानाले आर्थिक प्रतिवेदन तथा आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रमका अवसरमा नेपाल पत्रकार महासंघ लमजुङ शाखाको भवन निर्माणका लागि त्रिवेणी युवा क्लबले ५० हजार रुपैयाँ सहयोग गरेको छ। क्लबले उपलब्ध गराएको ५० हजार रुपैयाँको चेक पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेललाई हस्तान्तरण गरिएको थियो।

बेसीसहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा त्रिवेणी कप सफल बनाउन चन्दा तथा सहयोग गर्ने सहयोगदातालाई सम्मानसमेत गरिएको थियो। कार्यक्रममा क्लबका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, खेलप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो।