‘हाम्रो मर्स्याङ्दीः हाम्रो गौरव’ जीवनी पुस्तक प्रकाशन गरिने

- राष्ट्रिय व्यक्तित्व तथा सामाजिक अभियन्ताहरूको योगदान अभिलेखीकरण गर्ने तयारी

-


     नयाँ दीप    
     श्रावण २६ गते २०८३ मा प्रकाशित


लमजुङको मर्स्याङ्दी गाउँपालिकाले गाउँपालिकासँग सम्बन्धित राष्ट्रिय व्यक्तित्व तथा सामाजिक अभियन्ताहरूको योगदान समेटेर जीवनी पुस्तक प्रकाशन गर्ने भएको छ।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०८३ र ०८४ को स्वीकृत कार्यक्रमअन्तर्गत ‘राष्ट्रिय व्यक्तित्व तथा सामाजिक अभियन्ताहरूको जीवनी प्रकाशन’ कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा मगंलबार सामाजिक विकास समितिका संयोजक तिलबहादुर गुरुङको अध्यक्षतामा बैठक सम्पन्न भएको हो।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेललगायतको उपस्थितिमा सम्पन्न बैठकले मर्स्याङ्दीको इतिहास, कला, साहित्य, संगीत, राजनीति, समाजसेवा तथा विकासका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूको योगदान र प्रेरणादायी जीवनकथा समेटेर ‘हाम्रो मर्स्याङ्दीः हाम्रो गौरव नामक जीवनी पुस्तक भाग–१ प्रकाशन गर्ने निर्णय गरेको छ।

पुस्तकमा मर्स्याङ्दी गाउँपालिकालाई जन्मथलो बनाई राजनीति, समाजसेवा, शिक्षा, स्वास्थ्य, कला–साहित्य, संगीत, खेलकुद, कृषि, उद्योग तथा सरकारी–गैरसरकारी क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्व तथा सामाजिक अभियन्ताहरूको फोटोसहितको छोटो परिचयसमेत समावेश गरिने भएको छ।

त्यसैगरी, मर्स्याङ्दीबाट राष्ट्रिय राजनीतिमा योगदान पुर्‍याएका पूर्वसांसद, मन्त्री तथा माननीयहरूको योगदानलाई समेत छुट्टाछुट्टै खण्डमा समेटिने गाउँपालिकाले जनाएको छ।

मर्स्याङ्दीको इतिहास, योगदान र गौरवलाई भावी पुस्तासम्म पुर्‍याउने उद्देश्यले प्रकाशन गर्न लागिएको पुस्तकले गाउँपालिकाका राष्ट्रिय व्यक्तित्व तथा सामाजिक अभियन्ताहरूको योगदानलाई अभिलेखीकरण गर्नुका साथै नयाँ पुस्ताका लागि प्रेरणा र मार्गदर्शनको महत्वपूर्ण दस्तावेज बन्ने विश्वास गाउँपालिकाले लिएको छ।