
लमजुङको मर्स्याङ्दी गाउँपालिका–८, भुलभुलेस्थित पर्यटकीय हामखोला झरनाको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको छैटौँ हामखोला झरना महोत्सव–२०८३ शनिबार र आइतबार गरी दुई दिन सञ्चालन भएर सम्पन्न भएको छ।
महोत्सवको अन्तिम दिन आइतबार हामखोला झरना अवलोकन तथा महोत्सवमा सहभागी हुन हजारौँ दर्शक तथा पर्यटकहरू मर्स्याङ्दी गाउँपालिका–८ भुलभुले पुगेका थिए। जिल्लाका विभिन्न स्थानसँगै आसपासका क्षेत्रबाट समेत उल्लेख्य संख्यामा दर्शकहरू महोत्सवमा सहभागी भएका थिए।
महोत्सवमा स्थानीय कला, संस्कृति, खानाका परिकार तथा स्थानीय उत्पादनको प्रदर्शनीसँगै विभिन्न सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएको थियो।

शनिबार आयोजित सांगीतिक कार्यक्रममा चर्चित लोकदोहोरी कलाकार बाजसहार, लोकप्रिय लोकदोहोरी गायक राजु परियार तथा वरिष्ठ लोकदोहोरी गायिका शिला आलेलगायतका कलाकारले बेजोड प्रस्तुति दिएका थिए। कलाकारहरूको प्रस्तुतिमा दर्शकहरूले भरपूर मनोरञ्जन लिएका थिए।
मर्स्याङ्दी गाउँपालिकाको प्रवर्द्धन तथा हामखोला झरना संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा भएको महोत्सवको मुख्य उद्देश्य हामखोला झरनाको प्राकृतिक सौन्दर्यलाई पर्यटनसँग जोड्दै यसको संरक्षण, प्रचारप्रसार तथा आवश्यक पूर्वाधार विकास गर्नु रहेको आयोजकले जनाएको छ।
मर्स्याङ्दी नदीको किनारमा अवस्थित हामखोला झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। झरनाको प्राकृतिक सौन्दर्य अवलोकन, तस्बिर तथा भिडियो खिच्न र मनोरञ्जनका लागि लमजुङलगायत विभिन्न स्थानबाट पर्यटकहरू यहाँ पुग्ने गरेका छन्।
महोत्सवले हामखोला झरनाको प्रचारप्रसारसँगै स्थानीय कला, संस्कृति, उत्पादन र पर्यटनलाई जोड्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ। आगामी दिनमा झरनाको संरक्षण, व्यवस्थापन तथा पर्यटन पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउँदै लैजाने योजना रहेको जनाइएको छ।









