हङकङबाट लमजुङका दुई पीडित परिवारलाई साढे ८ लाख सहयोग

-


     नयाँ दीप    
     श्रावण १८ गते २०८३ मा प्रकाशित


हङकङमा रहेका लमजुङवासीले जिल्लाका दुई पीडित परिवारलाई कुल ८ लाख ५७ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्।

लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङले सोमबार बेसीशहरस्थित रेडियो मर्स्याङ्दीको कार्यालयमा आयोजित कार्यक्रममा बेसीशहर नगरपालिका–५ नाल्मा गैरी गाउँका मुखको क्यान्सरबाट पीडित ७० वर्षीय सुरेन्द्रकुमार गुरुङ र बेसीशहर नगरपालिका–१० बाँझाखेत रातमाटाका पहिरोमा ज्यान गुमाएका लगनध्वज गुरुङको परिवारलाई जनही ४ लाख २८ हजार ५ सय रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरेको हो।

समितिका अनुसार सुरेन्द्रकुमार गुरुङको उपचारका लागि तथा मृतक लगनध्वज गुरुङको परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले हङकङमा रहेका १३३ जना लमजुङवासीबाट उक्त रकम संकलन गरिएको हो। सुरेन्द्रकुमार हाल भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत छन्।

त्यस्तै, मर्स्याङ्दी गाउँपालिका–६ मा निर्माणाधीन ४०.२७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा काम गर्ने क्रममा पहिरोमा परी ज्यान गुमाएका लगनध्वज गुरुङकी पत्नी यमुना गुरुङलाई पनि सहयोग रकम हस्तान्तरण गरिएको छ।

समितिका संरक्षक तथा पूर्व संविधानसभा सदस्य जमिन्द्रमान घले र समितिका अध्यक्ष मिना गुरुङले पीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै संरक्षक घलेले विदेशमा रहेका लमजुङवासीले जन्मथलोप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मानव सेवाका कार्यमा निरन्तर योगदान पुर्‍याउँदै आएको बताए। यस्ता सहयोगले पीडित परिवारलाई राहत पुग्नुका साथै समाजमा सहकार्य, एकता र सद्भावको भावना अझ सुदृढ बनाउने विश्वास उनले व्यक्त गरे।

समितिका अध्यक्ष मिना गुरुङले समितिले स्थापना गरेको अक्षयकोषमार्फत सामाजिक, शैक्षिक, स्वास्थ्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा नियमित सहयोग गर्दै आएको जानकारी दिँदै यसपटकको सहयोग भने अक्षयकोषबाट नभई हङकङमा रहेका लमजुङवासीबाट विशेष रूपमा संकलन गरिएको रकमबाट उपलब्ध गराइएको स्पष्ट पारिन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसी, नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेल, पूर्व अध्यक्ष आश गुरुङलगायत सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो।