
स्याम्पल फोटो, एआईबाट निर्मित
लमजुङको बेसीशहरमा एक युवकलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार साउन १७ गते राति करिब ८ बजे बेसीशहर नगरपालिका–८ मजुवाखोलास्थित क्षेत्रमा भएको घटनामा झ्याङखोला निवासी ३२ वर्षीय साजन थापा मगरलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार साजन थापा मगरले मोरङको पथरीशनिश्चरे नगरपालिका–६ प्रगतीटोल स्थायी घर भई हाल बेसीशहर नगरपालिका–८ सेरामा बस्दै आएका ३० वर्षीय सनम तामाङमाथि धारिलो हतियार ९चक्कु० प्रहार गरेका थिए। चक्कु प्रहारबाट तामाङको कोखा र काँधमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक रामप्रसाद गौतमको नेतृत्वमा खटिएको प्रहरी टोली घटनास्थल पुगेर आरोपित साजन थापा मगरलाई नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका मगरविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा लमजुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
प्रहरीले घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।









