
देशका विभिन्न भाग, विशेषगरी तराईका केही जिल्लामा पछिल्ला दिनमा देखिएका हिंसात्मक घटना, धार्मिक तथा सामाजिक तनाव र त्यसबाट भएको मानवीय क्षतिप्रति चिन्ता व्यक्त गर्दै लमजुङमा शान्ति, सद्भाव र राष्ट्रिय एकताको पक्षमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ।
धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी भाइचारालाई थप मजबुत बनाउने उद्देश्यले ूभाषा, धर्म, संस्कारमा विविधता हाम्रो पहिचान, एकता हाम्रो प्रतिबद्धताू भन्ने नारासहित ॐकार परिवार लमजुङको आयोजनामा बेँसीशहरमा संयुक्त सद्भाव र्याली निकालिएको हो।
र्यालीमा विश्व हिन्दु महासंघ लमजुङ, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र बेँसीशहर, मुस्लिम संघ लमजुङ, विभिन्न आमा समूह तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले राष्ट्रिय झण्डासहित बेँसीशहर बजार परिक्रमा गर्दै शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको सन्देश दिएका थिए।
मनाङे चौताराबाट सुरु भएको र्याली सेराचोक पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा बोल्दै सद्भाव अभियानका अगुवाहरू खेमजंग गुरुङ, सूर्य पराजुली, विष्णु घिमिरे तथा फजल्दीन मियाँले पछिल्ला घटनाप्रति दुःख व्यक्त गर्दै कुनै पनि प्रकारका अफवाह, घृणा र उक्साहटमा नलागी संयमित र जिम्मेवार बन्न सबै नेपालीलाई आग्रह गरे।

उनीहरूले नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश भएकाले विविधताबीचको एकता नै नेपाली समाजको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै सदियौँदेखि कायम रहेको सामाजिक सद्भावलाई कुनै पनि कारणले खल्बलिन दिन नहुने धारणा राखे। धर्मका नाममा विभाजनभन्दा मानवता, सहिष्णुता र पारस्परिक सम्मानलाई प्राथमिकता दिनुपर्नेमा वक्ताहरूले जोड दिए।
कार्यक्रमको सञ्चालन पत्रकार नवराज पहाडीले गर्नुभएको थियो भने समापन विश्व हिन्दु महासंघ लमजुङका अध्यक्ष रमाराज खनियाँले गर्नुभएको थियो।
यता, सुन्दरबजार नगरपालिकाको सिउडीबारस्थित फ्युचर स्टार माध्यमिक विद्यालयले पनि शान्ति र सद्भावको सन्देश फैलाउने उद्देश्यले विद्यार्थीहरूको सहभागितामा सद्भाव र्याली आयोजना गरेको छ।
विद्यालयका निर्देशक बाबुराम पौडेलले नेपाल सबै नेपालीको साझा देश भएकाले जात, भाषा, धर्म वा संस्कृतिका आधारमा विभाजित नभई मिलेर बस्ने संस्कृतिलाई अझ बलियो बनाउन विद्यार्थीमार्फत सद्भाव जुलुस निकालिएको बताउनुभयो। नयाँ पुस्तामा सहिष्णुता, सम्मान र राष्ट्रिय एकताको भावना विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ थियो।
देशका केही स्थानमा देखिएको हिंसा र धार्मिक असहिष्णुताका घटनाले चिन्ता बढाइरहेका बेला लमजुङमा आयोजित यस्ता सद्भाव र्यालीहरूले समाजमा शान्ति, सहअस्तित्व र राष्ट्रिय एकताको सन्देश प्रवाह गरेका छन्। सहभागीहरूले कुनै पनि प्रकारका द्वेष, हिंसा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्दै सबै नेपालीबीच आपसी विश्वास, सम्मान र भाइचाराको सम्बन्ध अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।









