
सेवा विस्तार, विशेषज्ञ चिकित्सकीय सेवा, आधुनिक स्वास्थ्य उपकरणको प्रयोग तथा समुदाय केन्द्रित स्वास्थ्य कार्यक्रमहरूको प्रभावकारी सञ्चालनसँगै लमजुङको सुन्दरबजारस्थित एचडीसीएस–नमुना सामुदायिक अस्पतालप्रति सेवाग्राहीको विश्वास उल्लेखनीय रूपमा बढेको छ। आर्थिक वर्ष २०८२र८३ मा अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको अस्पतालले जनाएको छ।
अस्पतालका सूचना अधिकारी शोभा ठकुरीका अनुसार आर्थिक वर्ष २०८२र८३ मा अस्पतालले उपचारात्मक तथा प्रवर्द्धनात्मक स्वास्थ्य सेवामार्फत हजारौँ नागरिकलाई प्रत्यक्ष लाभ पुर्याएको छ। अस्पतालले नयाँ स्वास्थ्य सेवा थप्नुका साथै विद्यमान सेवाको गुणस्तरमा निरन्तर सुधार गरेपछि सेवाग्राहीको आकर्षण बढेको उहाँले बताउनुभयो।
अस्पतालको वार्षिक तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा २१ हजार १३७ जनाले बहिरङ्ग ९ओपीडी० सेवा लिएका छन्, जुन अघिल्लो आर्थिक वर्षको १७ हजार ५१२ जनाको तुलनामा करिब २१ प्रतिशतले बढी हो।
त्यसैगरी, २ हजार ९८७ जनाले आकस्मिक ९इमर्जेन्सी० सेवा, ३ हजार ४९५ जनाले दन्त सेवा, १ हजार ९७४ जनाले फिजियोथेरापी सेवा, २ हजार ७७५ जनाले अल्ट्रासाउण्ड ९यूएसजी० सेवा, ३ हजार ७०६ जनाले एक्स–रे सेवा, ५९६ जनाले आँखा परीक्षण, ७११ जनाले मनोपरामर्श सेवा, १७३ जनाले रेबिजविरुद्धको खोप तथा १२६ जनाले डेंगु परीक्षण सेवा लिएका छन्। यस अवधिमा अस्पतालमा एक लाख ३६ हजार ११० वटा प्रयोगशाला परीक्षण र ३ हजार ४२२ वटा माइनर शल्यक्रिया सम्पन्न भएका छन्।
उपचार सेवासँगै अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायमा आधारित विभिन्न निःशुल्क स्वास्थ्य कार्यक्रमलाई पनि निरन्तरता दिएको छ। आर्थिक वर्षभर ६ हजार ९३६ जनाले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन् भने मालिङ, राइनास, सुन्दरबजार र मर्स्याङ्दी क्षेत्रमा सञ्चालन गरिएका निःशुल्क स्वास्थ्य शिविरबाट २ हजार ३३५ जना लाभान्वित भएका छन्।
समुदायमा सञ्चालन गरिएको नसर्ने रोग ९एनसीडी० स्क्रिनिङ कार्यक्रमबाट १ हजार १९८ जना तथा अस्पतालमा नियमित सञ्चालन हुने मासिक निःशुल्क एनसीडी स्क्रिनिङबाट ८५८ जना लाभान्वित भएका छन्। विद्यालयमा सञ्चालन गरिएका स्वास्थ्य शिक्षा, स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रमबाट २ हजार २८९ जना विद्यार्थी लाभान्वित भएका छन् भने मानसिक स्वास्थ्य, नसर्ने रोग तथा अन्य स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रमबाट १ हजार ४५ जना समुदायका नागरिक लाभान्वित भएका छन्।
अस्पताल प्रमुख हेमन्त श्रेष्ठले सेवा विस्तार, विशेषज्ञ चिकित्सकको उपलब्धता, आधुनिक उपकरणको प्रयोग र सेवाको गुणस्तरमा गरिएको सुधारले अस्पतालप्रति नागरिकको विश्वास बढाएको बताउनुभयो। उहाँका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बिरामीको सङ्ख्यामा आएको उल्लेखनीय वृद्धि अस्पतालप्रतिको बढ्दो भरोसाको प्रतिफल हो।
उहाँले पछिल्लो समय मुटुसम्बन्धी रोगको पहिचानका लागि इको सेवा समेत सञ्चालनमा ल्याइएको जानकारी दिँदै आगामी दिनमा शल्यक्रिया सेवाको दायरा विस्तार गर्ने, थप विशेषज्ञ सेवा सुरु गर्ने, अत्याधुनिक उपकरण थप्ने तथा आर्थिक रूपमा विपन्न नागरिकलाई निःशुल्क र सहुलियतपूर्ण उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
निरन्तर सेवा विस्तार, गुणस्तरीय उपचार र समुदायसँगको सहकार्यका कारण एचडीसीएस–नमुना सामुदायिक अस्पताल लमजुङसहित छिमेकी जिल्लाका नागरिकका लागि भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवाको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।









