
लमजुङको बेसीशहर नगरपालिका– १ स्थित आकाशेडाँडामाथिको भिरपानी सामुदायिक वनमा मृत फेला परेका ५७ वर्षीय बुद्धिबहादुर बोहोराको हत्या गरी सुनका गहना लुट्ने घटनाका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङले बुधबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी घटनाबारे जानकारी दिएको हो। कार्यक्रममा प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले अनुसन्धानका क्रममा बोहोराको हत्या सुनका गहना लुट्ने उद्देश्यले गरिएको खुलासा भएको जानकारी दिनुभयो।
प्रहरीका अनुसार बेसीशहर ८ दनाईफाँटमा बसोबास गर्दै आएका बुद्धिबहादुर बोहरा गत असार २२ गते हराएका थिए भने असार २५ गते बिहान करिब ९ बजे भिरपानी सामुदायिक वनमा अनुहार तथा शरीर सडिगलेको अवस्थामा शव फेला परेको थियो। स्थानीय तथा आफन्तले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय लमजुङबाट सिनियर प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो।
उही दिन साँझ मृतकका आफन्तबाट किटानी जाहेरी प्राप्त भएपछि प्रहरीले प्राविधिक अनुसन्धानलाई तीव्र बनाएको थियो। विभिन्न स्थानका सीसीटीभी फुटेज, मोबाइलको प्राविधिक विश्लेषण तथा अन्य प्रमाणका आधारमा दोर्दी गाउँपालिका–१ ढोके निवासी विजय लामिछाने घटनामा संलग्न रहेको पुष्टि भएको थियो।
मृतकको शव असार २७ गते पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको थियो भने फरार रहेका लामिछानेलाई असार ३० गते बेसीशहरको फूलबारी क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धानका क्रममा अभियुक्त लामिछानेले सुन लुट्ने उद्देश्यले आफ्नै मिल्ने साथी बुद्धिबहादुर बोहोराको हत्या गरेको स्वीकार गरेका छन्। प्रहरीका अनुसार बोहोरा र लामिछाने अत्यन्तै मिल्ने साथी थिए। उनीहरू सँगै हिँड्ने, सँगै खाने र अधिकांश समय सँगै बिताउने गर्थे।
प्रहरीसमक्ष दिएको बयानअनुसार घटनाअघि हत्या गर्ने कुनै योजना थिएन। तर, जङ्गलमा सँगै बसिरहेका बेला बोहोराको घाँटीमा रहेको सुनको सिक्री र हातमा रहेको सुनको औँठी देखेपछि आफूमा लोभ जागेको लामिछानेले बताएका छन्। त्यसपछि नजिकैको रुखको हाँगा भाँचेर पछाडिबाट टाउकोमा प्रहार गरेको, पहिलो प्रहारपछि बोहोरा बेहोस भएर ढलेपछि पुनः प्रहार गरी हत्या गरेको र मृतकले लगाएका सुनका गहना लुटेर घटनास्थलबाट फरार भएको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिनुभयो।
अनुसन्धानका क्रममा अभियुक्तले लुटिएका सुनका गहना चितवन लगेर बिक्री गरेको पनि खुलेको छ। प्रहरीका अनुसार उनले भरतपुर महानगरपालिका–२१ पार्वतीपुरस्थित मौलाकालिका सुनचाँदी पसलका सञ्चालक ४३ वर्षीय दीपक विश्वकर्मालाई सुन बिक्री गरेका थिए। सुन बिक्री गरेबापत तत्काल ४४ हजार रुपैयाँ नगद लिएको र बाँकी ६ लाख रुपैयाँ पछि लिने सहमतिमा कारोबार भएको अभियुक्तको बयान रहेको प्रहरीले जनाएको छ।
बिलबिनाको सुन खरिद गरेको आरोपमा सुनचाँदी व्यवसायी दीपक विश्वकर्मालाई समेत प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाएको छ।










