
लमजुङको दोर्दी गाउँपालिकाले कृषि यान्त्रीकरण तथा नगदेबालीमा प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा कृषकलाई विभिन्न कृषि उपकरण वितरण गरेको छ।
गाउँपालिकाका अनुसार कार्यक्रममार्फत ६१ वटा मिनी टिलर, ४ वटा कफी पल्पर मेसिन, ५ वटा ग्रास कटर मेसिन, १७ वटा मकै छोडाउने मेसिन तथा ३ वटा इलेक्ट्रिक ड्रायर कृषकलाई हस्तान्तरण गरिएको हो।
उपकरण वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज अधिकारी ले आधुनिक कृषि प्रविधिको प्रयोगले उत्पादन लागत घटाउने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र कृषिलाई व्यवसायमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
उहाँले वितरण गरिएका उपकरणको अधिकतम सदुपयोग गर्न कृषकलाई आग्रह गर्दै कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण तथा कृषकको आयआर्जन वृद्धि गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो।
गाउँपालिकाले कृषि क्षेत्रमा आधुनिक प्रविधिको पहुँच विस्तार गरी कृषकलाई आत्मनिर्भर र व्यावसायिक बनाउन विभिन्न अनुदान तथा प्रविधिमैत्री कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।









