५ दिनदेखि हराइरहेका बुद्धिबहादुर बोहरा मृत फेला

-


     नयाँ दीप    
     असार २५ गते २०८३ मा प्रकाशित


लमजुङ सदरमुकाम बेसीशहरबाट ५ दिनदेखि हराइरहेका ५७ वर्षीय बुद्धिबहादुर बोहरा मृत भेटिएका छन् । उनका शव बिहीबार बिहान साढे ८ बजेतिर बेसीशहर नगरपालिका १, गाइखुरे झरना नजिकै आकाशे डाँडा माथिको भीरपानी पाखो जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयले जंगलमा शव भेटेको जानकारीपछि प्रहरी घटनास्थल पुगेको र शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
घटनास्थल पुगेको प्रहरीले आवश्यक मुचुल्का उठाएर शव परीक्षणका लागि बेँसीसहरस्थित प्रदेश अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनुभयो ।

अवकाशप्राप्त नेपाली सेनाका पूर्वसैनिक बोहरा बेसीशहर नगरपालिका–२ बोहोरा बेसी घर भए पनि हाल वडा नं.८, बेसीशहरको तामाङटोल बस्दै आएका थिए । बोहरा साउन २१ गते घरबाट कसैलाई जानकारी नदिई निस्किएका थिए । त्यसयता परिवार र प्रहरीले उनको खोजी गरिरहेको थियो ।

शव केही दिनअघिदेखि जंगलमा रहेकाले गलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनको गाला केही थिचिएको जस्तो देखिएकाले केही शंकास्पद देखिएको प्रहरीले जनाएको छ । शव परीक्षण प्रतिवेदन आएपछि मृत्युको कारणबारे थप तथ्य खुल्ने प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताउनुभयो ।

प्रहरीले घटनासम्बन्धी अनुसन्धानका क्रममा बोहरासँगै हिँड्ने एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको छ ।