एआई प्रविधिमा शिक्षकलाई दक्ष बनाउँदै युनिभर्सल एकेडेमी, विशेष कार्यशाला सम्पन्न

-


     नयाँ दीप    
     असार १६ गते २०८३ मा प्रकाशित


लमजुङ, बेसीसहर नगरपालिका–७ स्थित युनिभर्सल एकेडेमीले शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता ९एआई० सम्बन्धी एकदिने प्रशिक्षण तथा कार्यशाला सम्पन्न गरेको छ।

शिक्षण–सिकाइलाई आधुनिक, प्रविधिमैत्री र थप प्रभावकारी बनाउने लक्ष्यसहित आयोजित कार्यशालामा विद्यालयका शिक्षकहरूले एआईको शैक्षिक प्रयोगबारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गरेका छन्।

कार्यशालामा पाठ योजना तयार गर्ने, आकर्षक शिक्षण सामग्री निर्माण गर्ने, विद्यार्थीको सिकाइ मूल्याङ्कन गर्ने, सिर्जनात्मक गतिविधि सञ्चालन गर्ने तथा दैनिक कक्षाकोठा व्यवस्थापनमा एआईको सुरक्षित, जिम्मेवार र प्रभावकारी प्रयोग गर्ने विषयमा प्रशिक्षण दिइएको थियो। सहभागी शिक्षकहरूले विभिन्न एआई उपकरणको प्रयोगसमेत अभ्यास गरेका थिए।

विद्यालयका प्रिन्सिपल विमल अधिकारीले प्रविधिको द्रुत विकाससँगै शिक्षकहरूलाई नयाँ शिक्षण प्रविधिसँग परिचित गराउनु आवश्यक भएकाले यस्तो कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार एआईको उचित प्रयोगले शिक्षकको कार्यक्षमता बढाउनुका साथै विद्यार्थीलाई थप गुणस्तरीय, सिर्जनशील र प्रविधिमैत्री सिकाइ वातावरण उपलब्ध गराउन सहयोग पुग्नेछ।

कार्यशालामा सहभागी शिक्षकहरूले एआईलाई कक्षाकोठाको शिक्षणमा प्रभावकारी रूपमा प्रयोग गर्ने नयाँ सीप र अनुभव प्राप्त गरेको प्रतिक्रिया दिएका छन्। विद्यालयले आगामी दिनमा पनि शिक्षकहरूको व्यावसायिक विकासलाई प्राथमिकतामा राख्दै यस्ता प्रविधिमूलक तालिम तथा कार्यशालालाई निरन्तर सञ्चालन गर्ने जनाएको छ।