स्मार्ट कक्षा सुरु भएपछि विद्यार्थी भन्छन् अब घोक्नुपर्दैन, भिडियो हेरेरै बुझिन्छ,परम्परागत शिक्षण शैलीमा भयो ब्रेकथ्रु

-


     नयाँ दीप    
     असार १६ गते २०८३ मा प्रकाशित


आफ्नो स्कुलमा डिजिटल कक्षा सुरु भएपछि लमजुङको बेँसीसहर नगरपालिका–२ भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरू निकै उत्साहित देखिएका छन्। कक्षा १० मा अध्ययनरत छात्र अरुण बिकले आफ्नो अनुभव सुनाउँदै भन्छन्, पहिला सरहरूले बोर्डमा लेखेर वा भनेर पढाउँदा कतिपय कुरा बुझिँदैनथ्यो र दिमागमा पनि बस्दैनथ्यो।

अहिले स्मार्ट कक्षामा सिनेमा हेरेझैँ भिडियोमार्फत पढ्न पाइन्छ। गणितमा पहिला सूत्रहरू घोक्नुपथ्र्यो, अहिले त्यो सूत्र कसरी बन्यो भनेर ‘भिजुअलाइजेशन’ गर्न सकिन्छ। विज्ञानका रासायनिक प्रतिक्रिया र इतिहासका घटनाहरूलाई आँखा अगाडि भिडियोमा हेरेर अनुभव गर्न पाउँदा सिकाइ सजिलो भएको छ।

त्यस्तै, अर्की छात्रा शुभेच्छा बरालले किताबको चित्रमा मात्र सीमित रहने पढाइ अहिले जीवन्त भएको बताइन्। पहिले परीक्षाका लागि सबै कुरा घोकेर जानुपथ्र्यो, तर अहिले डिजिटल माध्यमबाट भिडियो हेरेपछि त्यो ज्ञान दिमागमा सिधै बस्छ। प्राकृतिक वस्तुहरूलाई आफ्नै आँखाले भिडियोमा देख्न पाउँदा बाहिरी कुराहरू बुझ्न र व्यावहारिक ज्ञान लिन धेरै सजिलो भएको छ, शुभेच्छाले भनिन्।

लमजुङको बेँसीसहर नगरपालिका–२ भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयमा अत्याधुनिक प्रविधिसहितको ‘स्मार्ट कक्षा’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। विद्यालयमा यो साता आयोजित एक विशेष कार्यक्रमका बिच ‘हुवावे स्मार्ट कक्षा’ विद्यालयलाई हस्तान्तरण गरिएको हो।

हुवावे नेपाल, नेपालस्थित चिनियाँ दूतावास, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल टेलिकमको संयुक्त सहकार्यमा कक्षाकोठामा डिजिटल बोर्ड र कम्प्युटरहरू जडान गरी यो स्मार्ट कक्षाको निर्माण गरिएको हो। कार्यक्रममा बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं २ का वडाध्यक्ष मदनबहादुर रानालाई ‘स्मार्ट पेन’ प्रदान गर्दै डिजिटल कक्षाकोठा औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।

नगरप्रमुख अर्यालले अबका दिनमा परम्परागत अध्ययन(अध्यापन प्रणालीले मात्र काम नगर्ने बताउँदै नयाँ पुस्ताको सोच र आधुनिक युगको मागअनुसार शिक्षालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो। नगरपालिका डिजिटल शिक्षा प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, नगरपालिकाले डिजिटल शिक्षालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरू ल्याएको छ। हालै मात्र केही प्राथमिक र माध्यमिक विद्यालयहरूमा बोर्ड, प्रोजेक्टर र ल्यापटपहरू हस्तान्तरण गरिएको छ। आगामी दिनमा पनि विद्यालयहरूलाई डिजिटल रूपमा कसरी व्यवस्थित गर्ने भन्नेमा नगरपालिकाले थप लगानी गर्नेछ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनबहादुर रानाले स्मार्ट कक्षाको आगमनले विद्यालयको वर्षौँदेखिको परम्परागत शिक्षण सिकाइ प्रक्रियामा ‘ब्रेकथ्रु’ महत्त्वपूर्ण परिवर्तन ल्याएको बताउनुभयो। यस प्रविधिले विद्यार्थीमा सिक्ने र अन्तरक्रिया गर्ने शैलीको विकास गराएको र शिक्षकहरूमा समेत डिजिटल माध्यमबाट पढाउने उत्साह जगाएको उहाँको भनाइ थियो।

स्मार्ट कक्षा हस्तान्तरण कार्यक्रममा प्रविधिको प्रयोग गर्दै काठमाडौँस्थित हुवावे टावरबाट समेत भर्चुअल माध्यम मार्फत सहभागिता जनाइएको थियो। सो अवसरमा हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेन, आर्थिक परामर्शदाता झु फेङ, वरिष्ठ शिक्षा विशेषज्ञ जेफ्री र आरम्भ विद्यालयका अध्यक्ष नरेशप्रसाद श्रेष्ठलगायतले डिजिटल कक्षाले नेपालको शिक्षा क्षेत्रको आधुनिकीकरण र गुणात्मक विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद बरालका अनुसार स्मार्ट कक्षा व्यवस्थापनका लागि हुवावे नेपालले भौतिक तथा प्राविधिक सामग्री सहयोग गरेको छ। जसअन्तर्गत विद्यालयलाई १० थान कम्प्युटर, १ थान ल्यापटप, १ थान प्रिन्टर, १ थान स्मार्ट बोर्ड तथा १५ वटा शैक्षिक टेबल र कक्षाकोठा रङ रोगन तथा कार्पेटिङको व्यवस्था गरिएको छ।