क्व्होलासोथार गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा

-


     नयाँ दीप    
     असार १६ गते २०८३ मा प्रकाशित


लमजुङको क्व्होलासोथार गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना गाउँपालिका घोषणा गरिएको छ। मंगलबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समितिका संयोजक सूर्यप्रसाद गुरुङले औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्नुभएको हो।

पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्नुअघि गाउँपालिकाले नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमले तोकेका सबै मापदण्ड र प्रक्रिया पूरा गरेको जनाएको छ। नियमित खोप लगाउने उमेर समूहका सबै बालबालिकाको अभिलेख अद्यावधिक गरिएको, कुनै पनि बालबालिका खोपबाट वञ्चित नरहेको सुनिश्चित गरिएको, स्वास्थ्य संस्थाको तथ्याङ्क तथा वडा तहबाट विवरण प्रमाणीकरण गरिएको, स्थानीय खोप समन्वय समितिबाट अनुगमन तथा मूल्याङ्कन सम्पन्न गरिएको र आवश्यक सूचकहरू पूरा भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको हो।

यस प्रक्रियाअन्तर्गत प्रत्येक वडाबाट पूर्ण खोप सुनिश्चितता घोषणा, त्यसको अभिलेख प्रमाणीकरण, गाउँपालिका स्तरको समन्वय समितिको समीक्षा, स्थलगत अनुगमन तथा आवश्यक कागजातको परीक्षणपछि अन्तिम रूपमा गाउँपालिका घोषणा गरिन्छ। यससँगै नियमित खोप कार्यक्रमलाई निरन्तर प्रभावकारी रूपमा सञ्चालन गर्दै आगामी वर्षहरूमा पनि सबै बालबालिकालाई समयमै खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउँँदै हस्ताक्षर गरिएको छ ।

घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले स्वास्थ्य नै मानव जीवनको सबैभन्दा महत्वपूर्ण आधार भएको उल्लेख गर्दै स्वस्थ नागरिकबिना समृद्ध समाज र दिगो विकास सम्भव नहुने बताए। उनले बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याउने अभियानलाई अझ प्रभावकारी बनाउँदै पूर्ण खोप सुनिश्चितताको अवस्थालाई दीगो रूपमा कायम राख्न स्थानीय सरकार, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा सरोकारवाला सबैको निरन्तर सहकार्य आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङ, वडा नं २ का अध्यक्ष खुशीमान गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सुमन पौडेल, प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका तथ्याङ्क अधिकृत सुशील पौडेल, स्वास्थ्य शाखा प्रमुख अरविन्दकुमार चौधरी, जनस्वास्थ्य कार्यालय लमजुङका कर्मचारी विवेक श्रेष्ठ, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, स्वास्थ्य संस्थाका प्रमुख तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो।

स्वास्थ्य शाखाका राजु परियारले सञ्चालन गरेको कार्यक्रममा नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा योगदान पुर्‍याउने स्वास्थ्यकर्मी, स्वयंसेविका, जनप्रतिनिधि तथा सरोकारवालाको भूमिकाको समेत प्रशंसा गर्दै सम्मान गरिएको थियो।

पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा स्वास्थ्य क्षेत्रमा स्थानीय तहले हासिल गरेको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। यस घोषणाले गाउँपालिकाभित्रका सबै लक्षित बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका सबै आवश्यक खोप समयमै प्राप्त गरेको सुनिश्चित गर्नुका साथै आगामी दिनमा पनि यो अवस्थालाई निरन्तर कायम राख्ने प्रतिबद्धतालाई संस्थागत गरेको छ।