
राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा सगरमाथा वृक्षरोपण महाअभियान अन्तर्गत लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
डिभिजन वन कार्यालय लमजुङ को आयोजनामा चिसापानी सामुदायिक वनअन्तर्गत निर्माणाधीन हरित उद्यानमा धुपी, जामुन, लालीगुराँस, लालुपातेलगायत पार्कलाई थप आकर्षक बनाउने विभिन्न प्रजातिका बिरुवा रोपिएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि तथा डिभिजन वन कार्यालय लमजुङका प्रमुख दीपकप्रसाद पण्डितले वृक्ष मानव जीवनको आधार भएकाले वातावरण संरक्षण र भावी पुस्ताको भविष्य सुरक्षित गर्न वृक्षरोपण अपरिहार्य रहेको बताउनुभयो। उहाँले वनजंगलले प्रदूषण नियन्त्रण, जलवायु परिवर्तनका असर न्यूनीकरण, भूक्षय रोकथाम, जैविक विविधता संरक्षण तथा आर्थिक समृद्धिमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो।
नेपालको करिब ४६ प्रतिशत भूभाग वनले ढाकिएको भए पनि विश्वका औद्योगिक राष्ट्रबाट उत्सर्जित हरितगृह ग्यासका कारण नेपालजस्ता विकासोन्मुख मुलुकले जलवायु परिवर्तनको प्रत्यक्ष असर भोग्नुपरेको उहाँको भनाइ थियो। त्यसैले वातावरण संरक्षणका लागि वृक्षरोपणलाई अभियानकै रूपमा अघि बढाउन आवश्यक रहेको उहाँले जोड दिनुभयो।
कार्यक्रममा मर्स्याङ्दी गाउँपालिका–६ का वडाध्यक्ष मिनरासी गुरुङले ‘जन्मदिनमा वृक्षरोपण’ अभियान निकै सन्देशमूलक र अनुकरणीय भएको बताउँदै हरित उद्यान निर्माणका बाँकी पूर्वाधारका काम छिट्टै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
‘जन्मदिनमा वृक्षरोपण अभियान नेपाल’का परिकल्पनाकार बासुदेव सेढाईंले अभियानको उद्देश्य र यसले वातावरण संरक्षणमा पुर्याइरहेको योगदानबारे जानकारी गराउनुभएको थियो। सामाजिक व्यक्तित्व विष्णु घिमिरेले स्थानीय समुदायको सक्रिय सहभागिताले यस्ता अभियान प्रभावकारी बन्ने विश्वास व्यक्त गर्दै सहभागी सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
डिभिजन वन कार्यालयका वन अधिकृत सन्तोष खनालले सञ्चालन गर्नुभएको कार्यक्रममा चिसापानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेमबहादुर घिमिरे, बाहुनडाँडा प्रहरी चौकीका इन्चार्ज सोमबहादुर थापा मगर, जन्मदिनमा वृक्षरोपण अभियान नेपालका नर्सरी व्यवस्थापक अमृत पाण्डे, वन उपभोक्ता समूहका पदाधिकारी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा रोपिएका बिरुवाले हरित उद्यानको सौन्दर्य वृद्धि गर्नुका साथै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा दीर्घकालीन योगदान पुग्ने आयोजकको विश्वास रहेको जन्मदिनमा बृक्षरोपण अभियानका अध्यक्ष बासुदेव सेढाँले बताउनुभयो ।











