उत्कृष्ट विद्यार्थी र विषयगत शिक्षकलाई सम्मान

-


     नयाँ दीप    
     असार ५ गते २०८३ मा प्रकाशित


लमजुङको बेसीशहर नगरपालिकाले उत्कृष्ट नतिजा हासिल गर्ने शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ । “उत्कृष्टताको सम्मान, बृहत् स्तरीय शिक्षाको अभियान, प्रतिभाको कदर, शिक्षाको थप उन्नति र समृद्धिको आधार” भन्ने मूल नाराका साथ बेसीशहर नगरपालिकाले शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा हासिल गरेका पालिका भित्रका ४२ जना विषयगत शिक्षकहरू तथा विद्यार्थी सम्मान गरेको हो ।

कार्यक्रममा आधारभूत तह (कक्षा ८), माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ का नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको छ। साथै, उत्कृष्ट शैक्षिक उपलब्धिमा योगदान पुराउने विषयगत शिक्षकहरूलाई पनि कदर गरिएको नगरपालिकाले जनाएको छ।

विहिबार बेसीशहर नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नगर प्रमख गुमानसिंह अर्यालको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा उपप्रमुख पद्मा गुरुङ, प्रमुख प्रशासकिय अधिकृत सुमन अधिकारी, सामाजिक विकास समितिका संयोजक मदनबहादुर राना, प्रवक्ता हिरालाल विक, शिक्षा समिति सदस्य बेनबहादुर सुँयल, उद्धव घिमिरे, डिना अधिकारी, लगायत सामुदायिक विद्यालयका प्र.अहरु लगायतको उपस्थिती रहेको थियो ।

नगरपालिकाका प्रतिनिधिहरूले शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने विद्यार्थी र शिक्षकलाई सम्मान गर्ने परम्पराको सुरुआत गरिएको उल्लेख गर्दै आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिइने बताइएको छ । सम्मान कार्यक्रममार्फत शैक्षिक प्रतिस्पर्धा, गुणस्तरीय शिक्षाको प्रर्वद्धन तथा प्रतिभाको कदर गर्ने वातावरण सिर्जना हुने विश्वास व्यक्त गरिएको छ।

नगरपालिकाले आगामी वर्षहरूमा पनि उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी र शिक्षकमाथि सम्मान तथा प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत सिर्जना चिलुवाल पाण्डेले बताउनुभयो ।