दोर्दी गाउँपालिकाले नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवालासँग सुझाव संकलन

-


     नयाँ दीप    
     असार ३ गते २०८३ मा प्रकाशित


लमजुङ – दोर्दी गाउँपालिकाले आर्थिक वर्ष २०८३र०८४ को नीति, बजेट तथा कार्यक्रमलाई थप सहभागितामूलक र आवश्यकतामुखी बनाउने उद्देश्यले सरोकारवालासँग सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

बुधबार गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८२ र ०८३ को प्रगति विवरण प्रस्तुत गर्दै आगामी वर्षका प्राथमिकता, योजना तथा कार्यक्रमबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विच्छ बहादुर घले, पूर्वअध्यक्ष ओम बहादुर गुरुङ, पूर्वउपाध्यक्ष दिल बहादुर घले, निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा लेखा अधिकृत ताराचन्द्र ढकाल, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, आमा समूह, क्लब तथा टोल सुधार समितिका प्रतिनिधि, जनप्रतिनिधि र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उपाध्यक्ष घलेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा लेखा अधिकृत ढकालले आर्थिक वर्ष २०८२ र ०८३ मा गाउँपालिकाले हासिल गरेका प्रगति, सञ्चालनमा रहेका योजना तथा प्राप्त उपलब्धिबारे जानकारी गराएका थिए।

अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरूले कृषि, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगार सिर्जना तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा विभिन्न रचनात्मक सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले स्थानीय आवश्यकताअनुसार योजना छनोट, स्रोत–साधनको प्रभावकारी परिचालन तथा विकास कार्यक्रमको गुणस्तर अभिवृद्धिमा जोड दिएका थिए।

कार्यक्रमका क्रममा अध्यक्ष अधिकारीले सहभागीबाट प्राप्त राय, सुझाव र सिफारिसलाई आगामी आर्थिक वर्ष २०८३ र ०८४ को नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्दै समावेशी र सहभागितामूलक योजना निर्माण प्रक्रियालाई गाउँपालिकाले निरन्तर प्राथमिकता दिने बताए।

गाउँपालिकाका कार्यक्रम अधिकृत धर्मराज गुरुङका अनुसार स्थानीय तहको योजना तथा बजेट निर्माण प्रक्रियालाई जनमुखी, पारदर्शी र आवश्यकतामा आधारित बनाउन यस्ता अन्तरक्रिया कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ।