
जिल्ला प्रहरी कार्यालय लमजुङले ठुलो परिमाणको लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा प्रहरीले बेसीसहर नगरपालिका वडा नं. ८ बस्ने ३७ वर्षीय शेखर शाहीलाई २९७ एम्पुल लागुऔषधसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक पाण्डेका अनुसार शाहीलाई शुक्रबार बिहान साढे ९ बजे बेसीसहर–२ स्थित गैरी सडक खण्डबाट नियन्त्रणमा लिइएको हो।
डुम्रेबाट बेसीसहरतर्फ आउँदै गरेको ग १ ख ६९०० नम्बरको बसमा लागुऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा ट्राफिक प्रहरीसहितको संयुक्त टोलीले सवारी चेकजाँच गरेको थियो। सोही क्रममा बसमा सवार शाहीको झोला र शरीर खानतलासी गर्दा ५ वटा पोकामा प्याक गरिएको अवस्थामा डाइजेपाम ९९ एम्पुल, बुप्रिनोर्फिन ९९ एम्पुल र फेनारगन ९९ एम्पुल गरी कुल २९७ एम्पुल लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले शाहीको साथबाट लागुऔषधका साथै दुई थान मोबाइल सेट समेत बरामद गरेको छ। पक्राउ परेका शाहीलाई बरामद दसीसहित नियन्त्रणमा लिएर लमजुङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ। पछिल्लो समय प्रहरीले यस क्षेत्रमा लागुऔषधको अवैध ओसारपसार र कारोबार विरुद्ध कडा निगरानी राख्दै आएको छ।










