
जिल्ला प्रहरी कार्यालय लमजुङले चालु आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमासिक (माघ–चैत) को प्रगति विवरण सार्वजनिक गरेको छ। प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार यस अवधिमा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा मिश्रित नतिजा देखिएको छ।
तीन महिनामा जिल्लाभर ६० वटा मुद्दा दर्ता भएका छन्। दर्ता भएका मुद्दामध्ये जम्मा प्रतिवादी ४० वटा छन् भने जसमध्ये पक्राउ परेका २१ जना र बाँकी १९ जना फरार छन् । तीमध्ये १४ वटा बैंकिङ कसूरका मुद्दा परेका छन् भने १३ जनाले आत्महत्या गरेको दुःखद तथ्यांक सार्वजनिक भएको छ। जम्मा दर्ता भएका मुद्धामा ४५ वटाको फछ्यौट हुन बाँकी रहेको छ ।
गम्भीर अपराधमा प्रहरीले कडाइका साथ कारबाही गरेको जनाएको छ। उदिपुरमा सवारी साधनभित्र नाबालिकामाथि करणी गर्ने ट्रक चालक र दुराडाँडामा आफ्नै १२ वर्षीया छोरीमाथि अपराध गर्ने बाबुलाई पक्राउ गरी कारागार चलान गरिएको छ। त्यस्तै, दोर्दी गाउँपालिकामा बन्चरो प्रहार गरी हत्या गर्ने अभियुक्तलाई पनि नियन्त्रणमा लिएर अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, प्रहरीले लागुऔषध र अवैध मासु सम्बन्धी घटनामा पनि कारबाही गरेको छ। लागुऔषधसहित दुई जना र ३९ किलो ६०० ग्राम गाईको मासुसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।
फरार प्रतिवादी खोजीमा पनि प्रहरीले तीव्रता दिएको छ। समीक्षा अवधिमा पहिचान भएका ४० जनामध्ये २१ जना पक्राउ परिसकेका छन् भने बाँकी १९ जनाको खोजी जारी रहेको छ।
प्रहरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमार्फत पीडितलाई सहयोग गर्ने, उजुरी छानबिन गर्ने र समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत नागरिकसँग सम्बन्ध बलियो बनाउने कामलाई प्राथमिकता दिएको जनाएको छ।
आगामी दिनमा आत्महत्या न्यूनीकरणका लागि जनचेतना बढाउने र बैंकिङ कसूर नियन्त्रणमा निगरानी कडा पार्ने योजना प्रहरीले अघि सारेको छ।










