कानुनी स्पष्टता बिना शेयर बिक्री ? मर्स्याङ्दी बचाउ अभियानको विरोधबीच दिव्य ज्योतिको कदम

-


     भरत बाबु घिमिरे    
     वैशाख ६ गते २०८३ मा प्रकाशित


लमजुङको सदरमुकाम बेसीशहर भएर बग्ने मर्स्याङ्दी नदी क्षेत्रको संरक्षणको माग गर्दै सक्रिय “मर्स्याङ्दी बचाउ अभियान” ले विरोध जनाइरहेका बेला दिव्य ज्योति हाइड्र पावर लिमिटेडले संस्थापक शेयर बिक्री प्रक्रिया अघि बढाएको छ।

बेसीसहर नगरपालिका–८ का स्थानीय तथा अभियानमा आबद्ध सुरेश कुमार प्रधानले सूचना अधिकार ऐन, २०६४ अनुसार कम्पनीसँग विस्तृत जानकारी माग गरेका छन्। उनले कम्पनीको कानुनी हैसियत, शेयर जारी गर्ने अनुमति, बोर्डको निर्णय, शेयर वितरण दर तथा मूल्य निर्धारणको आधारबारे स्पष्ट जानकारी माग गरेका हुन्।

प्रधानले विशेषगरी आयोजनासम्बन्धी कानुनी र प्राविधिक पक्षमै प्रश्न उठाएका छन्। आवश्यक सुरक्षा मापदण्ड, डिजाइन तथा स्थान परिवर्तन, स्वीकृति, निर्माण अनुमति जस्ता विषय स्पष्ट नभएको अवस्थामा सर्वसाधारणलाई संस्थापक शेयर बिक्री खुला गर्ने निर्णय कुन प्रचलित कानुनको कुन दफाअनुसार गरिएको हो भन्नेबारे उनले जवाफ माग गरेका छन्।

आफूले निवेदनमा माग गरेका सबै सूचनाहरू सार्वजनिक सरोकारका विषय भएकाले तोकिएको समयसीमाभित्र उपलब्ध गराउन आग्रह गरिएको छ। सूचना दिन नसकिने भए त्यसको कारणसहित लिखित जवाफ दिनुपर्ने पनि उल्लेख गरिएको छ।

यससँगै आयोजनाको निर्माण अनुमति वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन, तथा नेपाल धितोपत्र बोर्डबाट शेयर जारी गर्न स्वीकृति प्राप्त भए,नभएकोबारे प्रमाणित विवरण माग गरिएको छ। स्थानीय तहसँग गरिएको पत्राचारको कानुनी आधारसमेत सार्वजनिक गर्न माग गरिएको छ।

स्थानीय सरोकारवालाले पारदर्शिता र कानुनी प्रक्रिया सुनिश्चित नगरी शेयर बिक्री अघि बढाउनु उचित नहुने बताएका छन्।
यता कम्पनीले भने लमजुङको मस्र्याङ्दी बेसिमा निर्माणाधीन ५० मेगावाट क्षमताको आयोजनाबाट स्थानीयलाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले प्रभावित क्षेत्रका बासिन्दालाई संस्थापक शेयर बिक्री खुला गरिएको जनाएको छ। बेसीसहर नगरपालिका वडा नं. १० लगायतका स्थानीयलाई प्राथमिकतामा राखिएको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार २०८३ असोज ३ गतेदेखि २०८३ असोज १५ गतेसम्म शेयर फाराम आवेदन संकलन गरिनेछ। यस घटनाक्रमले जलविद्युत आयोजना, वातावरणीय उत्तरदायित्व र पारदर्शिताको विषयमा स्थानीय तहमा बहस अझ चर्किएको छ।