भूपू सैनिक माविको ४० औं वार्षिकोत्सव तथा एल्क्स स्मृति दिवस

-


     नयाँ दीप    
     पौष ३० गते २०८२ मा प्रकाशित


लमजुङको बेसीशहर नगरपालिका–८ स्थित भूपू सैनिक आवासीय माध्यमिक विद्यालयले ४० औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा २२ औँ एलेक्स मेमोरियल दिवस भव्य रुपमा मनाएको छ । बुधबार विद्यालय परिसरमा आयोजित वार्षिक उत्सव समारोह कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङको प्रमुख अतिथि रहनुभएको थियो ।

विद्यालयका कार्यबहक अध्यक्ष लोकेन्द्र जंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिवाकर शर्मा, प्याबसन लमजुङका अध्यक्ष ईश्वर पौडेल, निर्वतमान अध्यक्ष ताराराज घले लगायतले शुभकामना मन्तव्य राख्दै विद्यालयको निरन्तर प्रगतिको कामना गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विनोद गुरुङले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक, भौतिक तथा अतिरिक्त क्रियाकलापमा भएको प्रगति बारे जानकारी गराउनुभएको थियो भने सहायक प्रधानाध्यापक सुवोध न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

विद्यालयले उत्कृष्ट शिक्षकको रुपमा फुलमाया थापा र पवित्रा गुरुङलाई सम्मान गरेको छ भने कक्षा १० का स्वरुप पौडेल र अलिसा गुरुङ वर्ष उत्कृष्ट विद्यार्थी घोषित भएका छन् ।

कार्यक्रमकै अवसरमा अभिभावक देवेन्द्रकुमार गुरुङले ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको छ । बार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुको विविध खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो भने खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा अभिभावकलाई कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा महिला अभिभावकहरुको फुटबल, पुरुष अभिभावकहरुको भलिबल प्रतियोगिता तथा अभिभावकसंग विद्यार्थी संयुक्त नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो । जसले अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको सहभागीहरुले बताएका छन् ।

कार्यक्रममा विद्या विकास माध्यमिक विद्यालयका प्रिन्सिपल रामचन्द्र देवकोटा, न्युइरा बोर्डिङ स्कूलका प्रिन्सिपल ओम कायस्थ, बुद्ध मेमोरियल स्कूलका प्रिन्सिपल मोहन राउत, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, शिक्षक, विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।