
लमजुङको बेसीशहर २ भकुन्डेमा बसोबास गर्ने महिलालाई हत्या गर्ने पुरुष ८ महिना पछि पक्राउ परेको छ । चितवन जिल्लाको रत्न नगरपालिका वडा नं ७ घर भएका ४७ वर्षका बुद्धी राम दरैलाई मंसिर १८ गते सिद्धार्थ नगर पालिका बेलैया रुपन्देहीबाट सिआईविको टोलिले पक्राउ गरेको हो ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय लमजुङले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी पिडक दरैलाई सार्वजनिकि गरेको हो । दरैले नेपाल प्रहरीमा कार्यरत पुर्व प्रहरी हवल्दार ४७ बर्षकी सीता कँडेललाई हत्या गरी भारत पुगेका थिए ।

भारतमा सेक्युरेटी गार्डको काम गर्दै बसेका दरै नेपाल फर्कने क्रममा सिआईविको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लमजुङ ल्याएको हो ।
२०७१ सालदेखि नै दुवैको चिनाजानी भएको, मृतक कडेँलको घरमा समेत राम्रो आउजाउ रहेको र सामान्य कुरामा विवाद भएपछि सीता कडेँललाई हिर्काउँदा भित्तामा गएर ठोकिएर उनको मृत्यु भएको बयानका क्रममा दरैले बताएका प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो ।
छोरा र बुहारी अस्ट्रेलियामा रहेकोले कडेँले घरमा एक्लै बस्दै आएकी थिइन् ।
महिलाको मृत्यु भएपछि उनी सुत्ने कोठाको लोबेड भित्र त्रिपालले बेरेर राखेको कडेँलको शव ४⁄५ दिन पछि दुर्गन्ध फैलन थालेपछि मात्रै थाहा भएको प्रहरीको भनाई छ ।
पक्राउ परेको दरैलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । यस अघि पनि दरैले गोर्खामा एक महिलाको हत्या गरी ७ वर्ष जेल सजाँय भोगेर सजाँय छुटमा परेर रिहा भएको अनुसन्धामा देखिएको प्रहरीको भनाई छ ।









