कार्तिक महिनामा २ सय १० फूलको डोली थानीथान भित्रियो

-


     सृजना बराल, लमजुङ    
     कार्तिक २६ गते २०८२ मा प्रकाशित


तनहुँको भानु नगरपालिका–७ मा अवस्थित प्रसिद्ध थानीमाई मन्दिरमा कार्तिक महिनामा मात्रै २ सय १० वटा फूलको डोली भित्रिएको छ । कार्तिक महिना मंगलबार विषेशगरी थानीमाईको मन्दिरमा फूलको डोली भित्र्याउने गरिन्छ ।

कार्तिक महिनाको पहिलो मगंलबार औंशी परेकाले फूलको डोली भित्रिएन भने दोस्रो मंगलबार ८६ वटा तेस्रो मंगलबार ५८ र कार्तिकको अन्तिम मंगलबार आज ६६ वटा फूलका डोली थानीथानमा भित्रिएको छ ।

फूलका डोलीसगैँ पुजाअर्चनाको गर्न लाखौंको संख्यामा भक्तजनहरु थानीथान पुगेका छन् । सोमबार मन्दिर परिसरमा नै पुगेर हजारौंको संख्यामा रातभर जागराम बसेर बत्ती बाल्ने गरेका छन् । यसरी थानीथानमा फूलको डोली भित्र्याउँदा मनोकामना पुराहुने भक्तजनहरु बताउँछन् ।

भक्तजनहरू फूलको डोली र पञ्चेबाजासहित थानीमाई मन्दिरको तीन पटक नाचगान गर्दै परिक्रमा गर्छन् । परिक्रमा पछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेको देवलहँसमा डोलीसहित लिपिएका तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गर्छन् । त्यसपछि मन्दिर क्षेत्र प्रवेश गरी आफ्नो मनोकामना भएकी थानीमाईलाई पूजा–अर्चना गर्छन् । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले बराहपुर क्षेत्र गुन्जिने गरेको छ ।

सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । लमजुङ, तनहुँ, लमजुङ, गोरखा, चितवन, काठमाडौं, पोखरा लगायत जिल्लाहरुबाट भक्तजनले ल्याएका फूलको डोली भित्रिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले बताउनुभयो । मन्दिरमा फूलको डोली चढाउनेले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहेको थापाले बताउनुभयो ।

विषेशगरी प्रत्येक वर्षको असोज, कार्तिक, मंसिर, माघ, फागुन र चैत महिनामा भक्तजनहरुले बाजागाजा, भजनकिर्तन सहित नाचगान गर्दै फुलको डोली चढाउने गर्दछन् ।