
डुम्रे–बेसीशहर–चामे सडक योजनाअन्तर्गत भानु नगरपालिकामा पर्ने चाम्बासदेखि तुरतुरेसम्मको सडकखण्ड १२ दिनका लागि दैनिक साढे ६ घण्टा बन्द हुने भएको छ। उक्त सडकखण्डमा सडक खन्ने कार्य सञ्चालन गर्न लागिएकोले सो अवधिभर सवारीसाधनको आवागमन अस्थायी रूपमा बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको सुचना अनुसार सडक बन्द हुने मिति कार्तिक २४ गतेदेखि मंसिर ५ गतेसम्म रहने छ। यस अवधिभर बिहानदेखि दिउँसोसम्म तीन पटक सडक बन्द गरिनेछ। पहिलो पटक बिहान ६ः३० बजेदेखि ९ः०० बजेसम्म, दोस्रो पटक बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म र तेस्रो पटक दिउँसो २ः०० बजेदेखि ४ः०० बजेसम्म सवारीसाधन सञ्चालन पूर्ण रूपमा रोकिएको प्रशासनले जनाएको छ।
सडक बन्दको समयमा यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ। वैकल्पिक रूपमा सवारीसाधनले तुरतुरे–पालुंगटार–खत्रिटार हुँदै विमलनगर पुग्ने बाटो प्रयोग गर्न सक्नेछन्। प्रशासनले सो अवधिमा अत्यावश्यक सेवा, आकस्मिक सवारीसाधन तथा आपत्कालीन यात्रामा संलग्न व्यक्ति र संस्थाले पूर्व जानकारीका साथ आवागमन गर्न सक्ने व्यवस्था मिलाइने जानकारी पनि दिएको छ।
प्रशासनले सडक बन्द अवधिभर यात्रुहरूले सावधानी अपनाउन, तोकिएको समयमा मात्र गर्न सूचनामा भनिएको छ ।









