
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङको अध्यक्षमा लोकदोहोरी गायक प्रशान्त तामाङ निर्वाचित हुनुभएको छ । शनिबार राती सदरमुकाम बेसीशहरमा सम्पन्न २४ औँ वार्षिक साधारणसभा तथा नवौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
प्रतिष्ठानको अन्य पदाधिकारीहरूमा प्रथम उपाध्यक्ष किशोर बिक, द्वितीय उपाध्यक्षमा पृथ्वीराज गुरुङ, महिला उपाध्यक्ष सङ्गीता गुरुङ, सचिव चित्र दुरा, कोषाध्यक्ष सुमन न्यौपाने, सह–सचिव सावित्री पोख्रेल, सह–कोषाध्यक्ष राजकुमार गुरुङ (राज) र प्रवक्ता लक्ष्मी तामाङ निर्वाचित हुनु भएको छ ।
त्यस्तै, कार्यसमिति सदस्यमा कृष्ण वस्ती (निक्की), समीक्षा विष्ट, सुशील परियार, आशिष गुरुङ, नवीन बराल, खुमराज गुरुङ, हस्त सेन्चुरी र युगेश परियार चयन हुनुभएको छ ।
‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ सुरु भएको कार्यक्रमा ‘गाउँशहरमा लमजुङ दरबार’ गीतकी गायिका उमा गुरुङ र ठाडो भाका गायक दिवंगत देउबहादुर दुराका नाति यमबहादुर दुरालाई विशेष सम्मान गरिएको थियो ।
सम्मान प्रमुख अतिथि लोकदोहोरी गायक राजु परियार, नगर प्रमुख गुमानसिंह अर्याल, गायिका सम्झना भण्डारी र निबर्तमान अध्यक्ष अनुज अधिकारीले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रममा वरिष्ठ कलाकार राजु परियार, सम्झना भण्डारी, माया गुरुङ, उमा गुरुङ लगायतका कलाकारले मनमोहक प्रस्तुति दिएका थिए ।









