
पछिल्लो समय गाउँमा भएको घर खेतहरु बेचेर काठमाडौं, पोखरा तथा चितवन लगायतका ठाउँहरुमा बसाईसराई गर्नेको जमात बढ्दै गैरहेको छ । विस्तारै गाउँघर खाली हुदैँ जानथालेका छन् ।
तर २ दशक अघिदेखि काठमाडौंमा सुविधा सम्पन्न घर बनाएर बसोबास गर्दै गरेका व्यक्तिले आफ्नो घर बेचेर गाउँमा नै लगानी गरेको छ भनेको सुन्दा भने नौलो नै लाग्न सक्छ । यस्तै मध्येकी एक हुन् गिता अधिकारी पाण्डे ।
लमजुङ र तनहुँ जिल्लाको सिमाना नजिकै अर्चलधाराबाट करिव १ किलोमिटर माथि उहाँले ग्रिन हिमालय फार्म स्टे सञ्चालनमा ल्याउनुभएको छ । तनहुँको भानु नगरपालिका वडा नं ९ चितीखोलामा ग्रिन हिमालय फार्म स्टे, जहाँ आन्तरिक र वाह्य पर्यटकका लागि उत्कृष्ट बसाई बन्ने गरेको छ । फार्म स्टेमा आधुनिक देखि परम्परागत बसाई, खानाको व्यवस्था गरिएको छ ।

बर्षै छोडेको आफ्नो पुरानो घरलाई नै मर्मत गरी सञ्चालनमा ल्याइएको छ । घर सहित पुरानो परम्परागत घुमाउने घर, आधुनिक घर तथा सामाग्रीहरु निमार्ण गरिएको छ । पाण्डेको हिमालय फार्म स्टे परम्परा र आधुनिकताको संगमका रुपमा रहेको छ । आफ्नै पुख्यौली जग्गा ७५ रोपनी क्षेत्रफलमा आफैले खेती गरी पर्यटकलाई सम्पूर्ण अर्गानिक खाना खुवाउने गिता पाण्डे बताउनुहुन्छ ।
सहरी जिवन यापनमा बसेका पाण्डेका परिवारले गाउँमा नै केही गर्नुपर्छ भन्ने सोचका साथ काठमाडौंमा रहेको घर बेचेर गाउँ फर्किएका हुन् । उनीहरुले हिमालय फार्ममा २ करोड भन्दा बढको लगानी गरेका छन् ।

बर्षै पहिलो छोडिएको घर तथा बाँझो रहेको जग्गामा पुन मेहनत गरेरर अहिले निकै हराभरा बनाइएको छ । श्रीमान् सरकारी जागिरे, छोराछोरी पढाइको लागि बाहिर हुँदा सम्पूर्ण जिम्मेवारी पाण्डेमा नै रहेको छ । उँहाको फार्ममा पुग्ने पर्यटकहरुको लागि आफ्नै बारीमा उत्पादन गरिएको तरकारी, फलफूल तथा लोकल चामल, दुध, घिउ, दही, मही लगायतका खुवाउने गरिन्छ ।
फार्ममा पुग्ने जो कोहीलाई पनि अर्गानिक खेती र स्थानीय उत्पादन बारे जान्ने मौका, नेपाली गाउँको जीवनशैली नजिकबाट अनुभव गर्ने (खाना, संस्कृति, जनजीवन), लगायत शहरको हलचलबाट टाढा, शान्त वातावरणमा रम्ने अवसर पनि प्राप्त हुन्छ ।
पाण्डे विहान सवेरै देखि गाई दुहुने, बारीका तरकारी फलफुल टिप्ने र पर्यटकहरुको सत्कारमा जुट्ने कार्यबाट दिनको सुरुवात गर्नुहुन्छ । उहाँले नजिकै गाउँहरुले उत्पादन गरेका ताजा तरकारी तथा फलफूल समेत खरिद गर्ने गर्नुभएको छ । गाउँमा नजिकै धेरै थोरै उत्पादन पनि विक्री हुने र गाउँहरुले समेतले आयआर्जन गर्न सकेका छन् पाण्डेले भन्नुभयो ।

चार वर्षदेखि सुरु गरिएको पाण्डेको व्यवसाय होमस्टे रूपले विकास हुँदै आएको हो। प्रायः स्थानीय परम्परागत घर र बाँझो जग्गाको सदुपयोगले सुरु गरिएको गीता पाण्डे बताउनुहुन्छ । प्राय जसो लमजुङ, गोर्खा, तनहुँ लगायतका आन्तरिकहरु यहाँ पुग्ने गरेका छन् ।
पाण्डेले २०५६ सालमा दिल्लीमा भएको अन्र्तराष्ट्रिय महिला सम्मेलनमा नेपालको तर्फबाट भाग लिएको र सोही बेला नै ग्रामिण पर्यटनको महत्व बुझेको बताउनुभयो । परम्परागत र आधुनिक शैलीको मिश्रण गरी सुरु गरिएको फार्म स्टे ग्रामीण कृषि उद्यमशीलताको राम्रो नमुना बनेको छ।









