हिमालपारीको जिल्ला मनाङमा पर्यटकको घुँइचो

-


     नयाँ दीप    
     कार्तिक ११ गते २०८२ मा प्रकाशित


यतिबेला हिमाल पारीको जिल्ला मनाङ, मुस्ताङ लगायतका ठाउँहरुमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ ।
लमजुङको बेसीशहर हुँदै हिमाली जिल्ला मनाङ भएर जाने चक्रिय अन्नपूर्ण पदमार्गको भ्रमण गर्ने आन्तरिक तथा विदेशी पर्यटकको आगमन यतिवेला ह्वात्तै बढेको छ ।

तिहारको विदा अघि र पछि मात्रै दैनिक हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु मनाङ पुगेका छन् ।
दशैँ, तिहार, छठलगायत चाडपर्वको लामो बिदामा विद्यार्थी, युवा, कर्मचारी, बैंक तथा वित्तीय संस्था र चाडपर्व मनाउन विदेशबाट जन्मथलो आएकाको रोजाइमा हिमाली जिल्लाहरु पर्ने गरेका छन् ।

लमजुङको बेंसीसहरबाट सुरु हुने चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङ्ला भञ्ज्याङ (५,४१६ मि.) पास गरेर मुस्ताङ, म्याग्दी हुँदै पोखरा पुगेर टुंगिन्छ । केही भने माथिल्लो मनाङबाट संसारकै अग्लोमध्येको एक तिलिचो ताल (४,९१९ मि.) पुगेर फर्किन्छन् । फर्किएका केही भने थोराङ्ला पास गर्छन । केही मनाङमै बसेर फर्किन्छन् । मनाङ सदरमुकाम चामेसम्म २०६९ सालबाट जिप चल्न थाल्यो । त्यसपछि बिस्तारै माथिल्लो मनाङ र तिलिचो जाने बाटो खाङ्सारसम्म जिप चल्न थाले पछि आन्तरिक पर्यटकको पनि बृद्धी भएको पर्यटन व्यवसायीहरु बताउँछन् ।

सडक सहज हुन थालेपछि आन्तरिक तथा बाह्य पर्यटकहरू मोटरसाइकलमै मनाङ पुग्न थाले । सुरुका समय २१ दिन लाग्ने चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा अहिले पर्यटकहरू १ सातादेखि १० दिनमै टुङ्ग्याउँछन् । पदयात्राका सौखिनहरू भने लमजुङको बेंसीसहरबाट हिँडेरै तिलिचो पुग्छन्, हिँडेरै थोराङ्ला पास गरेर मुस्ताङ हुँदै पोखरा निस्कन्छन् ।

यो पछिल्लो एक वर्षमा चक्रीय अन्नपूर्ण पदमार्गमा वर्षमै ३७ हजार ७ सय ३२ जना विदेशी नागरिकले भ्रमण गरेका छन् भने आन्तरिक पर्यटकको भने कुनै रेर्कड नभएको जनाएको छ । जसमा २२ हजार ४ सय ७७ जना पुरुष, १५ हजार २ सय ४९ महिला र अन्य ६ जनाले चक्रीय अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन् ।

एक्याप मनाङका अनुसार गत आर्थिक वर्षमा १ सय ३४ देशका पर्यटकले मनाङ हुँदै चक्रीय अन्नपूर्ण पदमार्गको भ्रमण गरेका छन् । पर्यटक बढी मात्रामा भदौदेखि मंसिर र फागुनदेखि जेठसम्म आउने गर्छन् ।

घुम्नका लागि मनाङ पुगेका पर्यटकहरु उच्च हिमाली क्षेत्रमा लेक लागेर तीन जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार मनाङमा तीन जनाको मृत्यु भएको हो।

मनाङको नार्पाभूमि गाउँपालिकामा ४४ वर्षीय राम थापामगरको लेक लागेर मृत्यु भएको छ। फु गाउँबाट फर्कने क्रममा बिरामी भएका उनको होटलमा बास बस्दा ज्यान गएको हो। त्यस्तै, नार्पाभूमि–४ मा पर्यटकको भारी बोकेर फर्कने क्रममा डिलबहादुर गुरुङको मृत्यु भएको छ। लेक लागेपछि उनलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिएको थियो। सोही क्षेत्रको याकखर्कमा पर्यटकको भारी बोक्दै फर्कने क्रममा साम्बा घलेको पनि लेक लागेर मृत्यु भएको छ।

जल तथा मौसम विज्ञान विभागले १० र ११ कात्तिकमा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। बंगालको खाडी र अरब सागरमा विकसित न्यूनचापीय प्रणालीका कारण मंगलबारदेखि शुक्रबारसम्म मौसम प्रतिकूल रहने प्रक्षेपण छ। पर्यटन सिजनमा हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहण गर्ने पर्यटकलाई अद्यावधिक मौसम पूर्वानुमान हेर्न, लेक लागेमा तल्लो भूभागतर्फ फर्कन र एक्लै यात्रा नगर्न प्राधिकरणले सचेत गराएको छ।