बालकल्याण मावि स्वर्ण महोत्सवको तयारीमा

-


     नयाँ दीप    
     कार्तिक १ गते २०८२ मा प्रकाशित


लमजुङको बेसीसहर नगरपालिका–२, भकुण्डेमा रहेको बालकल्याण माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष पुगेको अवसरमा यही पौष २५ गतेसम्म स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ । स्वर्ण महोत्सवको तयारीसँगै विद्यालयले शुक्रबार बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी विभिन्न योजना र कार्यक्रमबारे जानकारी दिएको हो ।

स्वर्ण महोत्सवको तयारी स्वरूप विद्यालयले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं बेसीशहर–२ का वडा अध्यक्ष मदन रानाको संयोजकत्वमा ५ सय ३५ सदस्यीय मूल समारोह समिति, २३ सदस्यीय सल्लाहकार समिति, ३९ सदस्यीय सचिवालय र विभिन्न उपसमितिहरू गठन गरिसकेको छ । समारोहमा विविध शैक्षिक, आर्थिक, सांस्कृतिक तथा शिक्षामैत्री कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

स्वर्ण महोत्सवलाई सफल बनाउन आर्थिक स्रोत जुटाउने उद्देश्यले विद्यालयले कात्तिक १ गतेदेखि ३० गतेसम्म घरदैलो अभियान सञ्चालन गर्ने र पूर्व विद्यार्थी, अभिवावक, गैरआवासीय नेपाली र विभिन्न संघसंस्थासँग समन्वय गरी सहयोग संकलन समेत गरिने स्वर्ण महोत्सव मूल समारोह समतिकिा संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन रानाले बताउनुभयो ।

स्वर्ण महोत्सव पछि विद्यालयले दीर्घकालीन रूपमा आफूलाई आधुनिक र अभिभावकको प्राथमिकता हुने शिक्षालयको रूपमा विकास गर्ने लक्ष्य लिएको छ । डिजिटल शिक्षण सिकाइ, शिक्षक क्षमता विकास, भौतिक पूर्वाधार सुधार, नयाँ भवन निर्माण, पुस्तकालय तथा सभाहल निर्माण, वालउद्यान जस्ता योजना समेत अघि सारिएको संयोजक रानाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

हालैका वर्षहरूमा विद्यालयले विज्ञान प्रयोगशाला स्थापना, स्मार्ट कक्षा सञ्चालन, बाल विकास केन्द्र सुदृढीकरण, छात्रावासमा अतिरिक्त कक्षा सञ्चालन, वृक्षारोपण लगायतका गतिविधि सञ्चालन गर्दै आएको प्रधानाध्यपक विष्णुप्रसाद बरालले जानकारी दिनुभयो । भौतिक पूर्वाधारको पक्षमा विद्यालयमा १५ वटा कक्षा कोठा छन् । तर अधिकांश फर्निचर जीर्ण छन् भने शौचालय, कम्पाउन्ड घेराबार र खेलमैदान सुधारको आवश्यकता देखिएकोले यि सबै समस्या समाधानका लागि महोत्सवमा स्वर्ण कोष स्थापना गरि आर्थिक सहयोगको आब्हान गरिएको प्रअ बरालले बताउनुभयो ।

वि.सं. २०३२ सालमा स्थापना भएको विद्यालयमा हालसम्म करिब ४ हजार विद्यार्थीले अध्ययन गरिसकेका छन् । तीमध्ये १०२८ जना विद्यार्थीले एसईई÷एसएलसी परीक्षा उत्तीर्ण गरेका छन् भने करिब ३०० जना कक्षा १२ पास गरेर देश तथा विदेशका विभिन्न क्षेत्रमा कार्यरत छन् । विद्यालयमा हाल २ सय १४ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।

पत्रकार भेटघाट कार्यक्रममा विद्यालयका संस्थापक समेत रहनु भएका विद्यालय व्यवस्थापन समितिका सदस्य एवं आर्थिक व्यवस्थापन उपसमितिका संयोजक कोशलेन्द्र बहादुर कंडेलले विगतमा विद्यालय किन र कसरी स्थापना गरियो भन्ने बारेमा जानकारी गराउनु भएको थियो ।

पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं स्वर्ण महोत्सव सूचना तथा प्रचार÷प्रसार उपसमतिका संयोजक कृष्ण केसीले स्वागत तथा कार्यक्रमको उदेश्यका बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा मूल समारोह समितिका सदस्य राजेन्द्र बोहरा, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, विभिन्न समितिका संयोजक तथा सदस्य, शिक्षक, स्वर्ण महोत्सव मूल समारोह समितिका पदाधिकारी तथा विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।