
लमजुङमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध निशुल्क एच.पि.भी खोप लगाईने भएको छ । स्वास्थ्य कार्यलय लमजुङले सोमबार पत्रकार सम्मेलन गरी १० देखि १४ वर्ष उमेर समूहका किशारीहरुको लागि आगामी माघ २२ गते फेब्रुअरी ४ क्यान्सर दिवशको दिन देखि सुरु गरी फागुनको ६ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जनाकारी गराएको हो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको कार्यक्रम अन्र्तगत पहिलो पटक देशैभर सञ्चालन हुने खोप कार्यक्रममा लमजुङ जिल्लाका ६ हजार ५ सय ४४ जना किशोरीहरुलाई खोप लगाईने स्वास्थ्य कार्यलयले जनाएको छ । जिल्ला भित्रका १ सय ३४ खोप कार्यकर्ता, २ सय ६८ स्वमंसेवक, १ सय ३४ विद्यालय र ८० वटा स्वास्थ्य संस्थामा गरी जम्मा २ सय १४ खोप केन्द्र रहने छन् ।
ह्युमन प्यापिलोमा भाइरस (एच.पि.भी) नै पाठेघरको मुखको क्यान्सर गराउने मुख्य नामक भाइरस रहेको भन्दै यो यौन सम्पर्कबाट नै फैलिने लमजुङ अस्पतालका मेसु शिशिर देवकोटाले बताउनुभयो । यो खोप यौन सम्पर्कमा सक्रिय हुनुभन्दा अघि नै किशोरीहरुलाई यो खोप लगाईयो भने भविष्यमा उनीहरु सुरक्षित हुने भन्दै एच.पि.भी खोप निकै सुरक्षित रहेकाले ढुक्क भएर खोप लगाउन सकिने मेसु देवकोटाले बताउनुभयो ।
लगातार पाठेघरको मुखमा संक्रमण भएमा २० वर्ष पछि त्यो क्यान्सरमा परिणत हुने भन्दै यसलाई सुरुको अवस्थामा नै रोगको पहिचान गरी उपचार गरेमा रोगबाट बच्न सकिने कार्यक्रममा बताइएको छ । पाठेघरको मुखको क्यान्सर भएमा यौन सम्पर्क पछि रगत आउने, तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, अनियमित रुपमा रगत बग्ने, धेरै रगत बग्ने, रक्तअल्पता हुने, कमजोर महसुस हुने जस्ता लक्षण देखिन्छ ।
नेपालमा दैनिक ४ जना महिलाहरु पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको तत्थ्याङ्क रहेको अनुमान गरिएको छ । आगामी वर्षबाट नियमित रुपमा प्रत्येक फागुन महिनामा १० वर्ष पुरा भएका किशोरीहरुलाई यो खोप सञ्चालन गर्ने नेपाल सरकारको कार्यक्रम रहेको छ ।
जिल्ला समन्वय समितिका अध्यक्ष पूर्वबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख बुनाकुमारी रिमाल, स्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविण खनाल, लमजुङ अस्पतालका प्रमुख मेसु शिशिर देवकोटा, नमुना अस्पताल सुन्दरबजारका निर्देशक हेमन्त श्रेष्ठ, शिक्षा समन्वयका इकाई प्रमुख दिवाकर शर्मा, नेपाल रेडक्रस सोसाईटी लमजुङ शाखाका सभापती ऋषिराम घिमिरे, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।