
लमजुङ सदरमुकाम बेसीशहरमा सञ्चालन गरिएको पाचौँ मेयर कप २०८१ वडा स्तरीय फुटवल प्रतियोगिताको उपाधि बेसीशहर नगरपालिका वडा नं. १० बाँझाखेतले हात पारेको छ । सहजी खेल मैदानमा शनिबार भएको फाइनल खेलमा बेसीशहर नगरपालिका वडा नं. ६ चण्डिस्थानलाई हराउँदै वडा नं. १० ले पाँचौ मेयर कपको विजेता बन्न सफल भएको हो ।
निर्धारीत समयमा गोल रहित बराबरी भएपछि खेल सकिएपछि ट्राइबेकरमा ३–१ गोल अन्तरले वडा नं ६ लाई हराउँदै वडा नं १० च्याम्पियन बनेको हो । लगातार चार वर्ष सम्म फाइनलमा भिडेको भिड्दै उपविजेता बन्दै आएको वडा नं १० ले यसवर्ष भने जित हात पारेको छ । बेसीशहर ६ चण्डिस्थानले भने उपविजेतामा चित्त वुझाएको छ ।
विजेता बन्न सफल वडा नं. १० बाँझाखेतले नगद १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ । उपविजेता वडा नं. ६ ले नगद ५० हजार, मेडल र प्रमाणपत्र हात पारेको छ ।

विजेता टिमलाई बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख पद्मा गुरुङ, प्रमुख प्रशासकिय अधिकृत चेतनाथ अर्याल, प्रहरी नायव उपरिक्षक निशान्त श्रीवास्तव, नगर खेलकुद विकास समितिका अध्यक्ष सिजन श्रेष्ठ लगायतले पुरस्कार, मेयर कप, ट्रफी, प्रमाणपत्र, मेडल वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा बेसीशहर २ का असोक थापाले खेल अवधिभर ४ गोल गरी सर्वाधिक गोलकर्ताको उपाधि जित्नुभएको छ । वेष्ट डिफेन्स बेसीशहर २ का मानकाजी सारु मगर, उत्कृष्ट गोल रक्षक वडा नं १० का सुजन तामाङ, उत्कृष्ट मिड फिल्डर वडा नं १० का राज तामाङ र वेष्ट स्टाइकर बेसीशहर ६ का सुजन गुरुङ घोषित हुनुभएको छ ।
उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई ५\५ हजार रुपैयाँ मेडल र प्रमाण प्रदान गरिएको छ । यसैगरी बेष्ट डिफेन्स, बेष्ट डिफेन्डर र बेष्ट स्ट्राइकरलाई २\२ हजार रुपैयाँ स्वर्ण पदक र सम्मान पत्र प्रदान गरिएको आयोजक नगर खेलकुद विकास समिति बेसीशहरले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अर्यालले खेल क्षेत्रको विकासका लागि नगरपालिका सँधै लागिपर्ने र पर्याप्त बजेट बिनियोजन गरिने बताउनुभयो । प्रमुख अर्यालले वडाहरुले पनि खेलकुद क्षेत्रका लागि बजेट विनियोजित गर्नुपर्ने बताउनुभयो । यस्ता खाले प्रतियोगिताले नयाँ तथा दक्ष खेलाडी उत्पादनमा टेवा पूग्ने बताउनुभयो ।
नगरपालिकाले खेल क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै नगरभित्र खेल गतिविधि सञ्चालन गर्न पर्याप्त रुपमा बजेट बिनियोजन गर्न नसकेपनि केही मात्रा भने पनि खेल क्षेत्रका लागि बजेट बिनियोजन गर्दै आएको बताउनुभयो ।
बेसीशहर लमजुङ जिल्लाको सदरमुकाममा रहेको पालिका भएकाले पनि अन्य पालिकाको रुपमा यहाँ खेल गतिविधि प्राथमिकताका साथ सञ्चालन भइरहेको बताउनुभयो । पाँचौ मेयर कप फुटबल प्रतियोगिता मंसिर ११ गतेदेखि सुरु भएको हो । पाचौँ मेयर कप फुटवल प्रतियोगितामा बेसीशहर नगरपालिकाभित्र रहेको ११ वटै वडाहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनौट गरी पुष १२ गतेदेखि सुरु हुने ३२ औँ त्रिवेणी कपमा सहभागी गराइने नगर खेलकुद विकास समितिका अध्यक्ष सिजन श्रेष्ठले बताउनुभयो ।
मेयर कप फुटवल प्रतियोगिताको फाइनाल खेलको अवसर पारेर त्रिवेणी युवाक्लवका उपज हालका राष्ट्रिय खेलाडी जय गुरुङलाई नगद ५ हजार रुपैयाँ सहित सम्मान गरिएको छ ।
